• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

चुनौति पुर्ण फोहोर व्यवस्थापन

image not found

सानीभेरी समाचार डेस्क ।

रुकुम मुसिकोट नगरपालीका १ सल्लेका १३ वर्षिय गणेश विकको दैनिकी मुसिकोट ३ मा रहेको ल्याण्डफिल साइटमा वित्ने गरेको छ । सदरमुकाम मुसिकोटका विभिन्न बजारबाट उत्पादन भएको फाहोर फालिने ल्याण्फिल साइटमा उनि टुटे फुठेका सामाग्री संकलन गर्छन । सल्लेमा रहेको सरस्वती माविमा कक्षा ८ मा अध्यनरत विक दैनिक जसो ल्याण्फिल साइटमै भेटिने गरेका छन् । विद्यालय छाडेर उनि ल्याण्फिल साइटमा रहेका सिसाका बोतल लगाएतका सामाग्री संकलन गरी विक्रि गर्छन । नाक खोलेर बस्न नसकिने उक्त ठाउँमा उनि सहित अन्य बालकहरुपनि दैनिक फोहोर कोट्याई रहेको भेटिन्छन् । 

 

उनिहरुले प्रति बोतल एक रुपैंया र एक बोरा बोतल ४ सयमा विक्रि गर्ने गरेको बताएका छन् । उनिहरुका अनुसार बोतल खरिद गर्ने व्यक्ति ल्याण्फिल साइटमै पुग्ने गरेका छन् । विभिन्न सामाग्री पाईने र उक्त सामाग्री विक्रि गरे पैसा हात पर्ने आशले दैनिकजसो बालवालिकाकाहरु उक्त ठाउँमा फोहोर कोट्याउन पुग्ने गरेका हुन् । मुसिकोट नगरपालिकाले खुला रुपमा फोहोर फाल्दा ल्याण्फिल साइट वरपरको वातावरण प्रदुषित बन्दै गएको छ भने बालवालिकाहरु विद्यालय छाडेर ल्याण्फिल साइटमा भुल्न थालेका छन् ।  

 

मापदण्ड विपरितको ल्याण्डफिल साइट

फोहोरमैला व्यवस्थापन ऐन २०६८ ले ल्याण्डफिल साइटलाई दुर्गन्ध रहित बनाउनुपर्ने र जैविक(कुहिने) तथा अजैविक(नकुहिने) फोहोरलाई छुट्टा छुट्टै फाल्नुपर्ने व्यवस्था गरेपनि त्यसो हुन सकेको छैन् । अहिले बजारबाट उत्पादन हुने जैविक र अजैविक दुवै फोहोर एकै ठाउँमा फाल्ने गरिएको छ । जसका कारण ल्याण्डफिल साइट वरपरको वातावरण प्रदुषित बन्न थालेको छ । ‘उक्त ठाउँबाट हिड्नुपर्ने सर्वसाधारण नाक थुनेर हिड्नुपर्ने बाध्यता छ, स्थानिय शुरेश खड्काले भने–ल्याण्डफिल साइटको दुर्गन्ध करिब १ किलोमिटर तलको गाउँमा समेत पुग्न थालेको छ ।’ 

 

जैविक र अजैविक फोहोर छुट्याउने पुर्वाधार र जनशक्ति नहुँदा दुबै फोहोर एकै ठाउँमा फाल्ने गरिएको मुसिकोट नगरपालिकाका सूचना अधिकृत रामवहादुर केसीले जानकारी दिए । ‘अहिले हामी संग जनशक्ती र पुर्वाधारको अभाव छ, जसोतसो फोहोर संकलन गरेर फाल्ने गरेका छौं उनि–भन्छन–दुर्गन्ध कम गर्न फोहोर पदार्थ माटोले पुर्ने गरिएको छ ।’ तर ल्याण्डफिल साइटमा जथाभावी वेवारिसे रुपमा फोहोर फाल्ने गरेको पाईएको छ । फोहोरलाई मोटोले समेत छोप्ने गरिएको छैन् ।          

 

वसपार्कको लागि भनेर दिएका थिए स्थानियले जग्गा 

गाउँमा वसपार्क बन्ने भन्ने हल्ला चलेपछि स्थानियले जग्गा उपलब्ध गराउने निर्णय गरेका थिए । तर नमिलेको भूगोल भएका कारण नगरपालिकाले तीन÷चार वर्षसम्म उक्त ठाउँमा फोहोर फाल्ने र त्यसपछि बसपार्क बनाउने आश्वासन दिएपछि स्थानिय उक्त ठाउँमा ल्याण्डफिल साइट बनाउन सहमत भएका हुन् । वसपार्कका लागि दिएको जग्गा फोहोर फाल्ने ठाउँका रुपमा परिणत भएपछि केहि जग्गादाता भने असन्तुष्ट बन्न थालेका छन् । 

 

तर फिल्ड निर्माण नहुञ्जेल सम्म फाहोर फाल्न दिने सहमति भएको फोहोर व्यवस्थान तथा फिल्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर सार्कीले जानकारी दिए । स्थानिय ६ जनाले करिब २५ रोपनि जग्गा दुई वर्ष अगाडी नगरपालिकाको नाममा रजिष्ट्रेशन पास दिएका थिए । उक्त ठाउँमा गत असारबाट फोहोर फाल्न सुरु गरिएको हो ।    

 

फोहोर व्यवस्थापनमा असफल नगरपालिका 

फोहोर व्यवस्थापनमा मुसिकोट नगरपालिका असफल देखिएको नगरवासीले बताउन थालेका छन् । नगरपालिकाको कार्यालय सबैभन्दा बढी फोहोर व्यवस्थापन गर्न नसकेकै कारण आलोचित हुने गरेको छ । सदरमुकाम मुसिकोटका खलंगा, बागबजार, शेरिगाउँ, मठ, सल्ले लगाएतका बजारमा उत्पादित फोहोरको सहि रुपमा व्यवस्थापन हुन सकेको छैन् । फोहोरको उचित व्यवस्थान हुन नसकेकै कारण यहाँका सर्वसाधारणहरुले नगरपालिका भएको र नभएकामा कुनै फरक नभएको समेत बताउने गरेका छन् । मुसिकोटलाई सफा र सुन्दर राख्ने भन्दै दुइ वर्ष अगाडी केहि समय सरसफाई अभियान संचालन गरिएपनि उक्त अभियानले लामो रुप लिन सकेन ।

 

फोटोः मुसिकोट ३ मा रहेको ल्याण्फिल साइटमा टुटे फुटेका सामाग्री खोतल्दै ३ बालक । फोटो मनिष खड्का