• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

सिलाई कटाईमा महिलाको आकर्षण बढ्दो

सानिभेरी समाचार डेस्क,

पुष १३ मुसिकोट,

रुकुममा पछिल्लो समय सिलाई कटाई व्यवशायमा महिलाहरुको आकर्षण बढ्दो क्रममा रहेको पाईएको छ । घरेलु तथा साना उद्योग विकास समितिको तथ्यांक अनुसार अहिले जिल्ला भरमा ८५ जना महिलाहरुले सिलाई कटाई व्यवशाय संचालन गरिरहेका छन् । तर सिलाई कटाई संचालन गरिरहेका महिलाहरुको संख्या यति मात्र नभएको कार्यालयले जनाएको छ ।

 

‘हाम्रो कार्यालयबाट तालिम लिएर ८५ जना महिलाले व्यवशाय संचालन गरिरहेका छन् कार्यालयका मुखिया सुखदेव गौतमले भन्नुभयो–तर यो तथ्यांकलाई पुर्ण मान्न सकिदैन, किनभने अन्य सरकारी तथा गैरसरकारी संघसंस्था र व्यक्तिगत रुपमा केहि व्यक्तिहरुले पनि तालिम संचालन गरिरहेका छन, त्यसको डाटा हामी संग छैन् ।’ 

 

लघु उद्यम विकास कार्यक्रम अन्तरगत कार्यालयले संचालन गरेको सिलाई कटाई तालिममा करिब साढे तीन सय बढीले तालिम लिएका छन् । यो क्रम बर्सेनि बढ्दो क्रममा रहेको छ । मुखिया गौतमका अनुसार बर्षेनि १ सय भन्दा बढी महिलाहरु सिलाई कटाई व्यवशायमा आवद्ध भैरहेका छन् । 

 

पछिल्लो दुई÷तीन वर्षमा सिलाई कटाईमा महिलाहरुको आकर्षण बढ्दो क्रममा रहेको उहाँको भनाई छ । तालिम लिनेमा पुरुषहरुको संख्या शुन्यको अवस्थामा रहेको कार्यालयले जनाएको छ । कार्यलयका अनुसार सिलाई कटाई आम्दानीको राम्रो स्रोत बन्न थालेपछि यसमा धेरैको आकर्षण बढेको हो । सानो लगानीमा पनि व्यवशाय सुरु गर्न सकिने र विभिन्न संघसंस्थाहरुले पनि सहयोग गर्ने भएपछि यसमा सबैभन्दा बढी महिलाको आकर्षण देखिएको हो । 

 

कार्यालयले सिलाई कटाई व्यवशाय गर्नेहरुलाई ६० प्रतिशत छुटमा सामाग्री उपलब्ध गराउने गरेको छ । त्यस्तै अन्य संघसंस्थाहरुले पनि सहुलियतमा मेसिन लगाएतका सामाग्री उपलब्ध गराउने गरेका छन् ।