• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

२ वर्षसम्म पनि आयव्यय सार्वजनिक भएन

image not found

डिल्लीबहादुर खत्री, खोलागाउँ 

रुकुमको खोलागाउँमा २ वर्ष अगाडी संचालन गरिएको धार्मिक महोत्सवको आय व्यय अझै सार्वजनिक गरिएको छैन् । हिमालय उच्च मावि र जहारी क्याम्पस खोलागाउँको समग्र विकासका लागि भन्दै संचालन गरिएको ‘खोलागाउँ–विजयश्वरी’ धार्मिक महोत्सवको आय व्यय २ वर्ष सम्मपनि सार्वजनिक हुन सकेको छैन् । 

 

२०७१ फागुन २८ देखि चैत्र २ गतेसम्म चलेको महोत्सवमा करिब १ करोड ४५ लाख संकलन भएको प्रारम्भिक जानकारी गराईएको थियो । भुमि, तुला, गौदान र नगद गरी उक्त रकम संकलन भएको महोत्सव समापनका क्रममा प्रारम्भिक जानकारी गराईएको थियो । तर महोत्सव संचालन भएको २ वर्षसम्म पनि उक्त रकम केमा प्रयोग भयो भन्ने खुलाईएको छैन् । 

 

महोत्सव आयोजक मुल समारोह समितिले महोत्सवको सबै विवरण विद्यालयलाई बुझाई सकेको दाबी गरेको छ । महोत्सवबाट उठेको र उठ्न बाँकी सम्पुर्ण रकमको हिशाव विद्यालयलाई बुझाई सकेको महोत्सव आयोजक मुल समारोह समितिका संयोजक मनमोहोन शाहले जानकारी दिनुभयो । 

 

आयोजक समितिले महोत्सवबाट संकलन भएको सहयोग विद्यालयमा प्रयोग नगर्ने भनेपछि त्यसमा वास्ता गर्न छाडेको विद्यालयले जनाएको छ । समितिले करिब २ महिना अगाडी महोत्सवको विवरण समेटिएको फाईल विद्यालयलाई बुझाएपनि त्यसलाई नखोलिएको प्रध्यानाध्यापक भीमबहादुर ओलीले बताउनुभयो ।

 

महोत्सवबाट उठेको रकम विद्यालयको विकासमा खर्च नगर्ने भनिएपछि फाईल नखोलिएको प्रअ ओलीको भनाई छ । तर महोत्सव आयोजक समितिका संयोजक शाहले भने विद्यालय र क्याम्पसमा कति–कति रकम खर्च गर्ने भनेर स्पस्ट व्यवस्था गर्नुभयो । उक्त विवरण भने उहाँले खुलाउनु भएन ।

 

विद्यार्थी र अभिभावकहरुले लामो सयम सम्म पनि आयव्यय सार्वजनिक नगरिनुमा आयोजक र बिद्यालय विचमा मिलेमतो रहेको आरोप लगाएका छन् । आयोजकले विद्यालय र विद्यालयले आयोजकलाई दोषि देखाउन थालेपछि विद्यार्थी र अभिभावकहरुले भने दुबैको मिलेमतो रहेको आरोप लगाएका हुन् ।