• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

सांसदको रोजाईमा विद्यालय सुधार तथा सामुदायिक भवन र सडक

सानिभेरी समाचार डेस्क

पुष ७ मुसिकोट,

जिल्लाका सांसदहरुले निर्वाचन क्षेत्र विशेष पुर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम यसवर्ष सबैभन्दा बढी विद्यालय सुधार तथा सामुदायिक भवन निर्माणमा खर्चिने भएका छन् । 

 

जिल्लाका दुई प्रत्यक्ष निर्वाचित र दुई समानुपातिक सांसदले दुई शीर्षकको बजेट यसपटक सबैभन्दा बढी विद्यालय सुधार र सामुदायिक भवन निर्माणमा खर्च गर्ने योजना बनाएका हुन् । त्यस्तै उनीहरुले सडकमा पनि ठूलो रकम खर्चिने भएका छन् । 

 

सांसदहरुले जिल्ला विकास समिति रुकुममा पेश गरेको योजनामा सडकलाई पनि प्राथमिकतामा राखेका छन् । चार जना सांसदले विद्यालय सुधार तथा सामुदायिक भवन निर्माणमा करिब २ करोड ७४ लाख ५ हजार र सडक निर्माण तथा मर्मतमा १ करोड २३ लाख खर्च गर्ने योजना तयार पारेका छन् । 

 

कुल ८ करोड मध्ये विद्यालय सुधार तथा सामुदायिक भवन निर्माण र सडकमा मात्र करिब ४ करोड ९७ लाख ५ हजार छुट्याईएको छ । त्यस्तै लघु जलविद्युत आयोजनामा ५४ लाख बजेट खर्च गर्ने योजना बनाईएको छ । अन्य रकम खानेपानी, सञ्चार, स्वास्थ्य, खेलकुद लगाएतका शिर्षकमा विनियोजन गरिएको छ । 

 

जिल्लाका २ निर्वाचन क्षेत्र मध्ये १ मा ४ करोड ४२ लाख ३० हजार र क्षेत्र नम्बर २ मा ३ करोड ५७ लाख ७० हजार विनियोजन गरिएको छ । क्षेत्र नम्बर १ मा गणेशमान पुन, दलजित शेर्पाली र मिठु मल्ल तथा २ नम्बर क्षेत्रमा जनार्दन शर्मा र मिठु मल्लले रकम विनियोजन गर्नुभएको हो ।  

 

प्रत्येक्ष निर्वाचित सांसद जनार्दन शर्मा र गणेशमान पुनको निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र विशेष पुर्वाधार विकास कार्यक्रमबाट ३–३ करोड र निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट ४ जनै सांसदको नाममा ५०–५० लाख बजेट आएको छ ।