• अहिले तरंगमास्थानिय कलाकारका लोक गितहरु
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

मेरुदण्ड भाँचिएका केसीलाई साढे १३ लाख सहयोग

image not found

सानीभेरी समाचार डेस्क

पुष ४ ।

मेरुदण्ड भाँचिएर थलिएका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ५ अमिलाखोलाका बेगम केसीलाई सहयोग प्राप्त भएको छ । उहाँलाई विदेशमा रहेका विभिन्न व्यक्तिहरुले १३ लाख ४९ हजार एक सय ७२ रुपैंया सहयोग गरेका हुन् । 

 

केसी विगत ४ वर्षदेखि मेरुदण्ड भाँचिएर थलिनुभएको छ । बैदेशिक रोजगारीको शिलसिलामा भारतको सिम्ला पुगेका केसीको त्यहाँ नै मेरुदण्ड भाँचिएको हो । मेरुदण्ड भाँचिएपछि एक वर्ष अस्पतालको बेडमा बिताएका केसीले ३ वर्षदेखि ह्विलचेयरको साहारामा हुनुहुन्छ । 

केसीलाई विदेशबाट प्राप्त भएको सहयोग मंगलबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको छ । बाँफिकोट गाउँपालिका तीनको वडा कार्यालयमा एक कार्यक्रमका विच नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बसन्त कुमार शर्माले उक्त रकम केसीलाई हस्तान्तरण गर्नुभयो । 

 

५४ जनाले सहयोग गरेकामा एक जना बाहेक अन्य सबै सहयोग अमेरिकाबाट प्राप्त भएको बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मवहादुर केसीले बताउनुभयो । एक जनाले हङकङबाट सहयोग गरेका छन् ।

 

सहयोग गर्नेहरु बाँफिकोट गाउँपालिका घर भई हाल विदेशमा रहेका सहित मेक्सीको, पाकिस्तान,  भारतका साथै नेपालकै विभिन्न जिल्लावासी रहेका छन् । सबैभन्दा बढी सहयोग गर्नेले एक लाख १२ हजार २ सय ३६ रुपैंया सहयोग गरेका छन् । 

 

बाँफिकोट गाउँपालिका ३ घर भई हाल अमेरिकामा रहेका प्रेमलाल केसीले उक्त सहयोग गर्नुभएको हो । सहयोग मध्ये १३ लाख १९ हजार १ सय ७२ प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकर मार्फत गाउँपालिकाको खातामा आएको हो भने ३० हजार नगद प्राप्त भएको गाउँपालिकाले जनाएको छ । 

 

सहयोग प्राप्त भएपछि केसीले खुशि व्यक्त गर्नुभएको छ । ‘सहयोग ग्रहण गरेपछि केसीले भन्नुभयो–मेरो अवस्था देखेर सहयोग गर्नेप्रति म कृतज्ञ छु, मलाई धेरै खुशि लागेको छ ।’ 

 

सहयोग पाएपछि केसीले आफ्नै खुट्टाले हिड्ने आफ्नो सपना पुरा हुने आश बढेको बताउनुभयो । ४ वर्षदेखि आधा शरिरले काम गर्न छाडेका केसीले अव पुरै शरिरले काम गर्नेमा आफु आशावादी रहेको सुनाउनुभयो । 

 

‘म चार वर्षदेखि अर्काकै सहारामा छु, उहाँले थप्नुभयो–मैले कल्पना नै नगरेको सहयोग प्राप्त भएको छ, अव पहिलाकै जस्तो सामान्य अवस्थामा फर्किन्छु कि भन्ने आशा पलाएको छ ।’

 

आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसकेका केसी सहयोग पाएपछि उपचारका लागि जाने तयारीमा हुनुहुन्छ । अव छिट्टै उपचारका लागि जाने तयारीमा रहेको उहाँको भनाई छ ।