• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

ढिलाई गर्ने निर्माण व्यवशायिलाई कारवाही गरिने

सानीभेरी समाचार डेस्क

मंसीर ९ ।

राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको निर्माणाधीन पश्चिम खण्डमा पुल बन्न ढिलाइ भएपछि आयोजनाले प्रगति गर्न सकिरहेको छैन । खासगरी रुकुमदेखि बागलुङ सम्मको खण्डमा पुल निर्माणमा भएको ढिलाइले अस्त व्यस्त जस्तै देखिएको छ । 

 

ठाउँठाउँमा सडकको ट्रयाक पनि अस्त व्यस्त रहेको छ । कालिका कन्स्ट्रक्सनले अलिअलि काम गरे पनि बाँकी निर्माण कम्पनीले काम नगर्दा आयोजनाले गति लिन सकेको छैन । 

 

यसैबीच यो लोकमार्गका सरोकारवालाहरुको बैठकले निर्माण कार्यमा ढिलाइ गर्ने निर्माण ब्यवसायीमाथि कारवाहीका लागि लिखित सहमति गरेका छन् । यसमा निर्माण व्यवसायीले समेत सहमति जनाएका छन् । 

 

रुकुमका प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आफ्नै निजी पहलमा इञ्जिनियर लगेर रुकुमदेखि बाग्लुङसम्मको अनुगमण गर्नुभएको थियो । सो क्रममा निर्माण कार्य अस्तव्यस्त पाइएपछि शुक्रवार मात्रै सडक विभागको समन्वयमा प्रभावकरले सरोकारवालाहरुको बैठक बोलाउनुभएको थियो । 

 

बैठकले मध्यपहाडी लोकमार्ग अन्तरगत पश्चिम खण्डको बागलुङ–रुकुम सडक खण्डमा पर्ने निर्माणाधीण पुलको बारेमा कुनै पुलका निर्माण ब्यवसायीलाई सचेत गराउने र कुनैलाई कारवाही गर्ने निर्णय गरेको छ । 

 

जसअनुसार रेलीखोला पुल निर्माण २०७५ चैत मसान्तसम्म सम्पन्न गर्ने गरी निर्माण ब्यवसायी प्रतिनिधिबाट प्रतिबद्धता गराइएको छ । निर्माण कम्पनी बाइपी कन्स्ट्रक्सनबाट निर्माणाधीन भेरी पुल सन्तोषजन नभएको निष्कर्ष निकाल्दै बैठकले ठेक्कामा भएको प्रावधान अनुसार कारवाही अगाडि बढाउने निर्णय गरिएको प्रतिनिधि सभा सदस्य प्रभाकरले जानकारी दिनुभयो । 

 

त्यस्तै निर्माण ब्यवसायी दीपेन्द्र शाही, सिद्धिशाइ प्रकाश कन्स्ट्रक्सनद्वारा निर्माणाधीन जहारीखोला तथा खहरेखोला पुल आगामी चार महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गराइएको छ । खहरेखोला पुल चार महिनाभित्र सम्पन्न नभएमा ठेक्कामा भएको प्रावधानअनुसार कारवाही गर्ने निर्णय पनि बैठकले गरेको छ । 

 

भुजीखोला पुल निर्माणका लागि आयोजना कार्यालयबाट सडक डाइभर्सनका लागि ढोरपाटन नगरपालिकासँग समन्वय गरी डाइभर्सन बनाउन सहज गराउने र निर्माण ब्यवसायीबाट असार मसान्तभित्र काम पूरा गराउने प्रतिबद्धता पनि बैठकले गराएको छ । 

 

साङ्रेखोला पुल र घोरखानीखोला पुल ठेक्कामा भएको समयभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता पनि निर्माण ब्यवसायीले व्यक्त गरेको पूर्वमन्त्री एवं रुकुमका प्रतिनिधिसभा सदस्य प्रभाकरका स्वकीय सचिव श्रीकुमार कठायतले बताउनुभयो । 

 

त्यसैगरी डिजिभन सडक कार्यालय चौरजहारी अन्तर्गत निर्माणाधीन सानीभेरी पुल निर्माणको क्रममा आएको समस्या समाधानका लागि डिभिजन प्रमुख सहितको बैठक बसी समस्या समाधानको पहल गर्ने निर्णय भएको छ । 

 

बैठकले रगडा पुल निर्माणको कार्यमा बिलम्ब भएकाले तत्काल निर्माण कार्यक्रम अघि बढाउन पहल गर्ने निर्णय पनि गरेको छ । ठेक्का पट्टा हुन बाँकी रहेका पुलहरुलाई क्रमशः ठेक्का लगाउने प्रक्रिया अगाडि बढाउने साथै ठेक्का भइसकेका पुलको निर्माण कार्य शुरु नभएकामा यथाशीघ्र कार्य अगाडि बढाउन पहल गर्ने निर्णय गरिएको छ । 

 

मध्यपहाडी सडक निर्माणको कामलाई तिब्रता दिने गरी दश बुँदे निर्णयमा सरोकारवालाहरुले हस्ताक्षर गरेका छन् ।