• अहिले तरंगमाद न्युज प्लस
  • केहि छिनमाप्रदेश न्युज (प्रदेश एफ एम नेटर्वक)

ताजा अपडेट :

समाचार

भेरी–बबइ डाइभर्सन र जगदिश सर

image not found

जीतबहादुर शाह

एक वर्षको बीचमा नेपालगञ्ज हुदै सुर्खेत जाने रत्न राजमार्गमा धेरै पटक ओहरदोहर गरियो । जतिपटक ओहरदोहर गर्दा पनि बबइको पुलनेर पुगेर उत्तरतिरको पाखोतिर हेर्दा बवइको उत्तरपट्टिको किनारबाट आधा किलोमीटर जति बाटो खनेको देखिन्थ्यो । त्यसभन्दा अलि माथि साना साना घरहरु निर्माण गरेको पनि देखिन्थ्यो । यो दृश्यावलोकनले ‘भेरी बबइ डाभर्सनको काम कति भयो होला र कसरी हुदैछ होला, हेर्न पाए हुन्थ्यो’ भनेर यो मन हरेक पटक बबइमा पुग्दा अनायासै सकसक गरिरहन्थ्यो । आउदाजाँदा समय मिलाएर फेरिफेरि हेरौंला भनेर आफ्नो मनलाई आफैले प्रतिक्षामा बस्न आग्रह गर्दै समय नभएको बहानामा बाटो तताइन्थ्यो । यसरी मनलाई पर्खाएको पनि वर्षदिन भन्दा बढि भइसकेछ । शनिबारको दिन पारेर भेरी बबइ डाइभर्सन हेर्न जाँदा भने पर्खिरहेको यो मन प्रफुल्लित भयोे । त्यहाँ पुगेपछि सिनियर इञ्जिनियर जगदीश्वरमान श्रेष्ठले पावरप्वाइन्टको माध्यमबाट निर्माण कार्यको बारेमा विस्तृत रुपमा बताइदिनु भयो । निर्माणस्थलमा समेत लिएर त्यहाँका गतिविधिहरुको बारेमा जानकारी गराइदिनु भयो । अलि छिटो गरी अवलोकन गर्न आएको भए अहिलेको झै हामीलाई सहजीकरण गर्ने जगदीश सरजस्ता दिलदार मानिस नभेटिन पनि सक्थे भन्दै अवलोकन गर्न ढिलाइ भएकोमा मनमा कत्ति पनि पछुतोभाव भएन ।

 

जगदीश्वरमान श्रेष्ठलाई सङ्क्षेपमा जगदीश सर भने झै हामीले भन्ने गरेको भेरी बबइ डाइभर्सनको पूरा नाम भेरी बबइ डाइभर्सन बहुउद्देश्यीय आयोजना ९द्यद्यम्ःए० रहेछ । यसबाट ४८ मेघावाट विद्युत मात्र उत्पादन नभइ बाँके बर्दियाको वार्षिक रुपमा ५१ हजार हेक्टर खेतीयोग्य जमीन पनि सिचाइ गर्ने लक्ष्य भएकोले यसको नाम बहुउद्देश्यीय राखिएको छलफल र अवलोकनको क्रममा जानकारी भयो । करिव १६ अरव लगानीमा सञ्चालन भएको यो आयोजनाको अवधि ४ वर्षको रहेछ । यो आयोजना लाभका हिसावले अरु आयोजना भन्दा फरक र महत्वपूर्ण रहेछ । पहिलो कुरा त यसको निर्माणको क्रममा व्यक्ति वा राज्यलाई क्षतिपूर्ति वा मुहाब्जा दिनु पर्ने स्थिति करिवकरिव शून्य नै रहेछ । दोश्रो कुरा भनेको अरु आयोजना स्थल सम्म पुग्नका लागि सडक निर्माण गर्ने क्रममै धेरै लगानी गर्नु पर्ने स्थिति हुन्छ भने यो आयोजना सडककै छेउमा रहेछ । मतलव यो आयोजनामा पुग्नका लागि सडक निर्माणको क्रममा हुने लगानी छदैछैन भन्दा पनि हुन्छ । तेश्रो कुरा भनेको यो वातावरण मैत्री आयोजना रहेछ । यसको निर्माणको क्रममा जमीनको अत्यधिक कटौती पनि नहुने र बनजङ्गलको फडानी पनि नहुने कुरा निश्चितप्राय रहेछ । चौथो कुरा भनेको पानीको अधिकारसम्बन्धी विवाद पनि रहेनछ । अर्थात आयोजनाको अवस्था खेर गइरहेको पानीलाई सदुपयोग गर्ने मात्र रहेछ ।

 

यस आयोजनामा भेरी नदीमा ड्याम र बबइ नदीमा पाउरहाउस बनाएर सुर्खेतकै बबइको हात्तीखालबाट सुरुङ खन्ने काम सुरु हुन्छ । सुरुङको मुहान सुर्खेतको रामघाटस्थित चिप्लेमा हुनेछ जहाँको उचाइ समुद्र सतहबाट ४६१ मीटर रहेको छ । यहाँबाट सुरु भएको सुरुङ १२ कि.मी. पार गरेपछि बबइको हात्तीखालमा आएर पूरा हुनेछ । मोटरबाटो भएर जाँदा यी दुई ठाउको बीचको दूरी ३७ किलोमीटर देखिन्छ । बबइको हात्तीखाल समुद्र सतहबाट ४४४ मीटर उचाइमा रहेको छ । यो सुरुङ १२ कि.मी.को दूरी पार गर्ने क्रममा १७ मिटर ओरालो झर्ने देखिन्छ । यसका साथै हात्तीखालबाट १३५ मी. छाँगो झारेर बिद्युत उत्पादन गरिने भएको छ । यसरी विद्यूत उत्पादन हुने क्रममा टनेल र छाँगाबाट प्रति सेकेण्ड ४० घनमीटर पानी खस्नेछ । पानीको यो मात्रा भेरी नदी सुकेर जतिसुकै सानो भए पनि आधाभन्दा बढि हुनेछैन । सुरुङ खन्ने काम अझै सुरु भएको छैन । सुरुङ खन्ने मेसीन आउदो आषाढसम्म चाइनाबाट कलकत्ता बन्दरगाह हुदै आयोजना स्थलमा आइपुग्ने लक्ष्य रहेछ ।

 

यो आयोजनाको मुख्य आकर्षण र चुनौति नै सुरुङ खन्ने मेसीन रहेछ । यसको नाम टनेल बोरिङ मेसीन ९त्द्यः० रहेछ । यसको लम्बाइ २८० मीटर रहेछ । यति लामो मेसीनलाइ यस्तो साँगुरो र घुम्तीबाटोमा कसरी ल्याउने त भन्ने जिज्ञाशा राख्दा जगदीश सर भन्दै हुनुहुन्थ्यो – ‘यसलाई ट्रेनको डिब्बा जस्तै छु्ट्याएर ल्याउन मिल्छ र आयोजना स्थलमा ल्याएर जोड्दा यसको लम्बाइ त्यति हुन आउछ ।’ यो मेसिनको सम्बन्धमा भिडियो देखाउदै वहाँले थप्नु भयो – ‘यसको २८० मीटर लम्बाइ मध्ये सुरुमा अगाडि पट्टीको १५० मीटर लामो भाग सुरुङ अर्थात टनेल भित्र छिराउनु पर्दछ र बाँकी १३० मीटर भाग टनेल बाहिरै रहन्छ । यसरी सुरुमा मेसीनको १५० मीटर भाग भित्र छिराउनका लागि उक्त भागको लागि आवश्यक पर्ने टनेल मानिसहरुले नै अन्य साधनहरुको प्रयोग गरी परम्परागत किसिमबाट बनाउनु पर्दछ ।’ आयोजना स्थलको अवलोकन गर्दा अहिले त्यसैको तयारी भइरहेको देखिन्थ्यो । यो मेसीनले १२ किलोमीटर टनेल निर्माणका लागि बढिमा २ वर्ष लाग्ने अनुमान गरिएको रहेछ । यही मेसिनको मूल्य मात्रै १ अरव १५ करोड रुपैयाँ रहेछ ।

जगदीश सरका अनुसार यो मेसीन अन्य देशमा प्रयोग गरिएको भए तापनि नेपालमा पहिलो पटक प्रयोग गर्न लागिएको रहेछ । उनका अनुसार यो मेसीन र यो आयोजना सफल भयो भने यसले नेपालका विकासका ढोकाहरु खोल्नेछ । यस्तै मेसीन नभएको कारणले चमेलिया जलविद्युत आयोजना अलपत्र भएको स्थिति रहेछ । यो आयोजना सफल भएमा यही तरिकाबाट र यस्तै मेसीनको प्रयोगबाट निर्माण कार्य पर्खिरहेका पश्चिम नेपालका आयोजनाहरुमा सुनकोसी –मारिन, सुनकोशी– कमला, कालीगण्डकी– तिनाउ, कालीगण्डकी–नवलपरासी, त्रिसुली–चितवन, भालुबाङ –कपिलबस्तु र मादी–दाङ रहेछन् । मलाइ पनि लाग्यो, दुइटै हातमा नरिवल भने झै यी आयोजनाहरुले गति लिन सके भने सिचाइ र विद्युतको हिसावले हाम्रो देश मालामाल हुने देखिन्छ । यतिमात्र नभइ सुरुङ खनेर सडक बनाउन सकियो भने समय, स्रोत, साधन र वातावरण संरक्षणको दृष्टिकोणले पनि लाभदायक हुँदो रहेछ । सवैभन्दा ठूलो कुरा त यात्रा गर्दा दिनभर लाग्ने सडकहरु क्षणभर पनि नलाग्ने गरी छोटिने छन् । जगदीस सरले जस्तै साँच्ची यो सपना हाम्रा नेताहरुले देखेका होलान् त ?

भेरी बबइ डाइभर्सन बहुउद्देश्यीय आयोजनाले अन्य सामाजिक कार्यमा समेत हात अघि बढाएको देखियो । यस आयोजनाले हात्तीखालमा १.९ किमी, नजीकै रहेको गेरुवानीमा ४.६ किमी र चेपाङमा २.१३ किमी ग्रावेल सडक निर्माण कार्य अघि बढाएको अवस्था छ । आयोजना स्थलको नजीकै रहेको छोटे र गेरुवानीमा क्रमशः ९ किलोवाट र १.६ किलोवाट सौर्य उर्जा उत्पादन गरी पानी माथि तानेर सिचाइ गर्ने योजना सुरु भएको छ । सुर्खेतको लेखपराजुलका कतिपय गाउहरुमा सिचाइका लागि नहरहरु बनाउने काम जारी छ । हात्तीखाल क्षेत्रमा पूर्वाधार निर्माणको क्रममा फडानी गरिएको जङ्गलको क्षतिपूर्तिका लागि बर्दियाको पाताभार र जनकनगर क्षेत्रमा ७ हजार बृक्षारोपण गर्ने कार्य सम्पन्न भइसकेकोे छ । यसका साथै सुर्खेतको बीरेन्द्रनगरमा ४ करोडको लगानीमा आयोजनाको भव्य कार्यालय भवन समेत सम्पन्न हुने क्रममा रहेको छ । 

 

भेरी बबइ डाइभर्सनको इतिबृत्तान्त थाहा पाएपछि यो आयोजनाको माया लाग्न थालेको छ । चनिनेको मान्छेलाई भन्दा चिनेको मान्छेलाई माया लागे झै । जसरी भेरी बबइ डाइभर्सनको माया लागिरहेको छ त्यो भन्दा पनि अझ बढि माया आयोजनाका सिनियर इञ्जीनियर जगदिश्वरमान श्रेष्ठको लागि रहेको छ । आफ्नो कर्मप्रति यति धेरै गम्भीर र जिम्मेवार इञ्जीनियर पहिलोपटक देखे झै महसुस भयो । हामी १० जनाको टिम आयोजना स्थलमा पुगेर वहाँसँग आयोजनाको बारेमा बुझ्न खोज्दा तपाइहरुसँग कति समय छ भनेर सोध्दै हुनुहुन्थ्यो हामीसँग । ‘किन र ?’ भनेर सोध्दा वहाँ भन्नु हुन्थ्यो– ‘कतिपय मानिसहरु बुझ्न पनि खोज्छन्, समय पनि छैन भन्छन् । यो आयोजनाको बारेमा बुझ्नलाई केही समय त चाहिन्छ नै ।’ हामीसँग समय छ भनेपछि वहाँले करीव ४५ मिनेट जति समयमा पाउरप्वाइन्ट र भिडियोको माध्यमबाट र आधा घण्टा जतिको समयमा आयोजना स्थलको अवलोकन गराएर आयोजनाको बारेमा हामीलाई धेरै कुरा सहजीकरण गर्नुभयो । त्यतिबेलासम्म झमक्कै साँझ परिसकेको थियो । समय भएको भए वहाँका कुरा अझै बाँकी थिएँ, हामीलाई त्यस्तै महसुस भइरहेको थियो ।

कुराकानीको क्रममा अवगत भयो, सिक्टा सिचाइ र चीसापानी पुलनेरको रानीजमरा सिचाइ आयोजनाको हेडवक्र्सको स्ट्रक्चरल डिजाइन र सो कार्यको सुपरीवेक्षण एवम् अनुगमन गर्ने काम जगदीश सरबाटै भएको रहेछ । त्यत्ति मात्र नभइ काठमाण्डौंको टङ्गालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भव्य रातो बिल्डीङको स्ट्रक्चरल डिजाइन गर्ने काम पनि वहाँबाटै भएको रहेछ । सुन्धारास्थित नेपाल टेलिकमको आलिसान भवन र पुतलीसडकको त्रिवेणी कम्ल्पेक्सको स्ट्रक्चरल डिजाइन पनि वहाँबाटै भएको रहेछ । सारमा बुझ्दा वहाँ स्ट्रक्चरल इञ्जीनियर हुनु हुँदोरहेछ । वहाँ भन्दै हुनुहुन्थ्यो – ‘तपाइको घरको स्ट्रक्चरल डिजाइन बनाए पछि एकपटक मलाइ देखाउनु होला । म तपाइबाट कुनै शुल्क नलिएर सल्लाह दिनसक्छु । मेरो डिजाइन अनुसार बनेका घरहरुलाई भुकम्पले पनि केही गर्न सकेको छैन ।’ आफूसँगैका इञ्जीनियर साथीहरु प्रथम श्रेणीमा पुगिसक्दा पनि आफू द्वितीय श्रेणीमै भएकोमा कसैसँग पनि कुनै पीडा र कुनै गुनासो छैन वहाँको । उमेरको कारणले निवृत्त हुन एक वर्ष मात्र बाँकी हुँदा पनि उर्जा र जाँगरमा कुनै कमी छैन । परियोजनाको चिनिया ठेकेदारले चाइनाबाट ल्याएका इञ्जीनियरहरुले समेत उनिबाट सिक्ने गरेका अनगिन्ति दृष्टान्तहरु रहेछन् । साधा जीवन र उच्च विचारका धनी यस्ता जनशक्तिबाट हामीले सिक्ने कहिले होला ? साँच्ची हाम्रो देशमा यस्ता जनशक्तिको सम्मान हुने कहिले होला ? 

 

jbshah072@gmail.com

२०७३ साल मङ्सीर २९ गते बुधबार