• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

आठबीसकोटले नगर प्रहरी भर्ना गर्दै

image not found

सानीभेरी समाचार डेस्क

कात्तिक, २० ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले नगर प्रहरी भर्ना गर्न लागेको छ । नगरपालिकाले खुला र आन्तरिक तर्फ नगर प्रहरी सहायक निरिक्षक, जवान र कार्यालय सहयोगी गरी १८ जना नगर प्रहरी भर्ना गर्न लागेको हो । 

 

आन्तरिक तर्फ दुई जना नगर प्रहरी सहायक र चार जना जवान भर्ना गर्ने नगरपालिकाले तयारी छ । त्यस्तै खुला तर्फ दुई जना प्रहरी सहायक निरिक्षक, ११ जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी(भान्छे) भर्ना गर्न लागेको छ । 

 

खुला तर्फ प्रहरी जवानका लागि खुला ६ जना, महिला दुई जना, आदीवासी जनजाति एक जना, दलित एक जना र पिछडिएको क्षेत्रबाट एक जनाका लागि नगरपालिकाले दरखास्त आह्वान गरेको छ । आन्तरिक भन्नाले नगरपालिकामा हाल काम गरिरहेका कर संकलकलाई बुझाउँने नगरपालिकाले जनाएको छ ।

 

नगर प्रहरीका लागि यो वर्षको वैशाख १ गतेबाट १८ वर्ष पुगि २४ वर्ष ननाघेकाले आवेदन दिन सक्न नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामवहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार नगर प्रहरीको पारिश्रमिक समेत तोकिएको छ । 

 

नगर कार्यपालिका बैठकले नगर प्रहरीका विभिन्न पदमा दरखास्त आह्वान गर्ने निर्णय गर्नुका साथै पारिश्रमिक पनि तोकेको हो । नगर प्रहरी सहायक निरिक्षकका लागि १६ हजार, नगर प्रहरी जवानका लागि १४ हजार र नगर प्रहरी कार्यालय सहयोगीका लागि १३ हजार पारिश्रमिक तोकिएको छ । 

 

प्रचलित कानुन अनुसार रासन भत्ताको समेत व्यवस्था गरिएको छ । जिल्लामा तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ स्थानीय तह रहेकामा सानीभेरी गाउँपालिकाले यस अघि नै नगर प्रहरी भर्ना गरिसकेको छ । उसले पाँच जना नगर प्रहरी नियुक्त गरी काममा लगाई सकेको छ । 

 

स्थानीय सरकार संचालन ऐन २०७४ ले स्थानीय तहलाई नगर प्रहरी भर्ना गर्न पाउँने अधिकार दिएको छ ।