• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

विदा नै नलेखी अमेरिका

image not found

सानीभेरी समाचार डेस्क

कात्तिक १३ ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–७, साँख स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मी स्वास्थ्य सेवा ऐन उलंघन गर्दै लामो समयदेखि विना कुनै जानकारी स्वास्थ्य चौकी नआउँदा समस्या भएको छ । 

 

अनमी गीता शाह गत असार २९ गतेदेखि स्वास्थ्य चौकी आउनुभएको छैन् । उहाँ अमेरिकामा रहनुभएको छ । जानकारी नै नगराई अमेरिका घुमघाम गर्न गएकी शाह लामो समयदेखि स्वास्थ्य चौकी अनुपस्थित हुनुहुन्छ । 

 

लामो समयदेखि एक जना अनमी उपस्थित नहुँदा दैनिक कामकाज प्रभावित भैरहेको स्वास्थ्य चौकी इन्चार्ज सुस्मिता विष्टले बताउनुभयो । अफिसमा केही जानकारी नगराएरै अनमी शाह लामो समयदेखि अनुपस्थित रहेको विष्टको भनाई छ । 

 

कमै जनशक्ति रहेको साँख स्वास्थ्य चौकीमा एक जना कर्मचारी नहुँदा धेरै समस्या भैरहेको विष्टले बताउनुभयो । साँख स्वास्थ्य चौकीले प्रसुती गृह पनि सञ्चालन गरेको छ । प्रसुती गराउने, खोप तथा परिवार नियोजन सेवामा असर परेको स्वास्थ्य चौकीले बताएको छ । 

 

कामकाजमा असर परेपछि स्वास्थ्य चौकी व्यवस्थापन समितिले अर्को अनमी व्यवस्था गरिदिन नगरपालिकालाई अनुरोध गरेको छ । गत असोज २ गते बसेको बैठकले प्रसुती गृह सञ्चालन, खोप, परिवार नियोजन सेवा लगायतमा समस्या भएको भन्दै अर्को कर्मचारीको माग गरेर नगरपालिकामा अनुरोध गरेको व्यवस्थापन समिति अध्यक्ष हिमबहादुर पाण्डेले बताउनुभयो ।

 

शाह यस अघि पनि यसरी नै विदा नै नलेखि सम्पर्क विहीन हुने गर्नुभएको थियो । स्वास्थ्य सेवा ऐन २०५३ संसोधन २०७० को परिच्छेद १० को दफा ७४ को ज मा विदा स्वीकृत नगराई लगातार ६० दिन सम्म कार्यालयमा उपस्थित नभएको अवस्थामा त्यसलाई सोझै सेवाबाट बर्खास्त गर्ने व्यवस्था उल्लेख छ । 

 

मुसीकोट नगरपालिकाका प्रशासन प्रमुख दीपेन्द्र रावलले स्वास्थ्य चौकीमा अनमी विना जानकारी अनुपस्थित भएको बारे जानकारी आएको बताउनुभयो । लामो समयदेखि विना जानकारी स्वास्थ्य चौकी उपस्थित नभएको बारे बुझ्ने कार्य भैरहेको रावलको भनाई छ ।