• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमासाथि सँग मनका कुरा

ताजा अपडेट :

समाचार

बिद्युत चुहावट नियन्त्रण गर्र्न उर्जामन्त्रीको नयाँ फर्मुला,सोलार पाता बिना इन्भर्टर राख्न नपाइने

image not found

बिराटनगर, २९ मंसिर । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले विद्युत चुहावट नियन्त्रणमा उपभोक्तालाई प्रत्यक्ष सहभागी गराउने योजना अघि सार्नु भएको छ । 
मोरङको रङगेलीमा स्थानीय उपभोक्ता र प्राधिकरणका कर्मचारीबीचको संयुक्त अन्तरक्रियामा बोल्दै उहाँले यस योजना बारे बोर्डमा छलफल शुरु भएको जानकारी दिनुभएको हो । “डण्डा लगाएर मात्र चुहावट रोक्न सकिँदैन, यसमा उपभोक्ताहरुको सक्रिय सहभागिता हुने खालको संरचना बनाइ परिचालन गर्नुपर्छ” उहाँले भन्नुभयो “प्राधिकरण बोर्डमा छलफल गरी ठोस योजना ल्याइनेछ ।” 
बिद्युत चोरी र चुहावट गर्ने कार्यलाई कानुनले नै सार्वजनिक अपराध घोषित गरेको अवस्थामा यस्तो अपराध नियन्त्रण गर्न नयाँ कार्ययोजना अघि सार्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
‘अब सोलार पाता बिना इन्भर्टर राख्न नपाइने’
उर्जामन्त्री शर्माले सोलार पाता विना घरमा इन्भर्टर चलाउन नपाईने निर्णय सरकारले गरेको बताउनुभयो । इन्भर्टर चलाउनेहरुले घरको छतमा अनिवार्य रुपमा सोलार पाता जडान गरेको हुनुपर्ने भन्दै उहाँले त्यसो नगरेको पाइए नियम अनुसार कार्वाही हुने चेतावनी दिनुभयो । इन्भर्टरले लोडसेडिङ न्यूनिकरण अभियानमा अवरोध गर्ने भएकोले यस्तो निर्णय गरिएको मन्त्री शर्माले स्पष्ट पार्नुभयो ।
‘प्राधिकरणले ३ महिनासम्म मिटर रिडिङ गर्दैन, उल्टै जरिवाना तिराउछ’
रङगेली क्षेत्रका विद्युत ग्राहकहरुले प्राधिकरणले ३ महिनासम्म मिटर रिडिङ नगर्ने तर उल्टै ग्राहकलाई जरिवाना तिराउने गरेको भन्दै आक्रोश पोखेका छन् । मिटर रिडिङ गर्न आफै पनि नजाने, बोलाउदा पनि नआउने तर बिल तिर्न ढिला गरेको भन्दै ३ महिनापछि जरिवाना असुल्ने काम तत्काल बन्द गर्न उनीहरुले प्राधिकरण नेतृत्वको ध्यानाकर्षण गराए । यस्तै विद्युत महशुल काउण्टरको अभावमा कयौं ग्राहकहरुले १ सय रुपिँया बिल तिर्नको लागि ३ सय रुपिँया भाडा तिरेर लाइन बस्न आउनुपरेको गुनासो गरेका छन् । यो समस्या समाधान गर्न तत्कालको लागि मोबाईल काउण्टर संचालन गर्न उर्जामन्त्रीले निर्देशन दिनुभयो । निकट भविश्यमा स्मार्ट मिटर जडान गरी मोबाइल फोनको जस्तै रिचार्ज कार्ड सिष्टमबाट बिल तिर्ने व्यवस्था मिलाउन लागिएको भन्दै मन्त्री शर्माले तत्काल सुरक्षाकर्मी सहितको मोबाईल काउण्टर संचालन गर्न प्राधिकरण नेतृत्वलाई ‘अन द स्पट’ निर्देशन दिनुभयो ।

प्राधिकरणको एमडी बन्न १० करोडको अफर !
उर्जामन्त्री शर्माले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइदिन ५ जना व्यक्ति १० करोडको अफर लिएर आफुकहाँ आएको खुलासा गर्नुभयो । तर आफुले व्यक्तिगत स्वार्थलाई भन्दा जनताको सेवा गर्ने कार्यलाई एक सुत्रीय नारा बनाएर अघि बढेको उहाँको भनाइ छ । “मैले त्यस्तो अफर स्वीकार गरेको भए तपाइहरु जस्तो उद्योगपति म पनि हुनसक्थेँ हुँला तर मैले त्यो बाटो रोजिन, परिणामस्वरुप आज जनताको घर आँगन झिलिमिली भएको छ ।”
 

वाहवाही कायम राख्न लागिपरौं  : उर्जासचिव
उर्जा सचिव अनुप उपाध्यायले लोडसेडिङ हटाएर जनताबाट पाएको वाहवाही र सदभावलाई कायम राख्न कडा मेहेनतका साथ लागिपर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उर्जामन्त्रीको कुशल राजनीतिक नेतृत्व र कार्यकारी निर्देशकको सक्षम व्यवस्थापनको कारण लोडसेडिङ हटेको भन्दै यसलाई सुख्खायाममा पनि निरन्तरता दिन फिल्डमा खट्ने कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।