• अहिले तरंगमासाहित्य माला
  • केहि छिनमाथाहा खबर

ताजा अपडेट :

समाचार

चुनवाङलाई लसुनको पकेट क्षेत्र बनाईदै

image not found

सानीभेरी समाचार डेस्क 

असोज, २१ ।

रुकुम पूर्वको चुनवाङमा कृषि उत्पादनलाई ब्यवसायिक रुपमा अघि बढाउन पहल थालिएको छ । स्थानीय सरकारको पहलमा भुमे गाउँपालिका ९ चुनवाङलाई लसुन, आलु र कागतीको पकेट क्षेत्र बनाउने तयारी थालिएको हो । 

 

यो बर्ष लसुन उत्पादन बृद्धि गर्न बीउमा अनुदान दिने तयारी गरिएको छ । वडा सरकारको निर्णय अनुसार झण्डै पचास क्विन्टल बीउ अनुदानमा दिने तयारी गरिएको छ । 

 

‘लसुनको वीउ साह्रै महंगो भयो भन्ने किसानको गुनासो आयो’– वडाध्यक्ष प्रवेश पुनले भन्नुभयो– ‘प्रतिकेजी ५० रुपैयाँ किसानले तिर्ने र बाँकी मूल्य वडा सरकारले तिरिदिने गरी लसुनको बीउमा अनुदानको ब्यवस्था गरेका छौं ।’ 

 

बजारको जिम्मा पनि स्थानीय सरकारले नै लिने भएको छ । किसानले उत्पादन गरेको लसुनको बजार समस्या हुने संभावना मध्यनजर गरी सबै उत्पादनको बजार जिम्मा वडाले लिने निर्णय गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो । 

 

‘अहिले पनि किसानले उत्पादन गरेको लसुनको बजार हामीले बनाइरहेका छौं उहाँले भन्नुभयो–हाम्रै पहलमा दाङ लगायतका ठाउँमा लसुन विक्री भइरहेको छ, हामीले ५० क्विन्टल लसुन जिम्मा नै लिइसकेका छौं ।’ 

 

वडाले ५० क्विन्टल बीउ बाँड्ने तयारी गरेको छ । यसबाट हुने उत्पादनको बजार पनि वडाले मिलाउने भएकाले किसानलाई ढुक्कसँग उत्पादन गर्न वडाध्यक्ष पुनले आग्रह गरे । वडा सरकारले धेरै उत्पादन गर्ने किसानलाई पुरस्कार दिने निर्णय गरेको छ ।

 

जसअनुसार सबैभन्दा धेरै लसुन उत्पादन गर्ने किसानमध्ये प्रथमलाई १० हजार, द्वितीयलाई ७ हजार र तृतीयलाई ५ हजार पुरस्कारको ब्यवस्था गरिएको छ । त्यस्तै सबैभन्दा धेरै आलु र कागजती उत्पादन गर्ने किसानलाइ पनि पुरस्कार दिने निर्णय गरिएको वडा अध्यक्ष पुनको भनाई छ ।