• अहिले तरंगमाआधुनिक गितहरु
  • केहि छिनमारेडियो प्रशारण सेवा समापन

ताजा अपडेट :

समाचार

न्यायिक समितिमा जनसत्ताका ४५ मुद्धा

image not found

डिल्लीवहादुर खत्री 

चौरजहारी, असोज १९ ।

 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जनसत्ताका ४५ वटा मुद्दा परेका छन् । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जन सरकारमा रजिष्ट्रेसन भएका घरजग्गा सम्बन्धिका ४५ वटा मुद्दा नगरपालिकाको न्यायिक समितिमा परेका हुन् । 

 

देश शान्ति प्रक्रियामा गएको १ दशक बढी भइसक्दा पनि राज्यले माओवादी जनसत्ता सम्बन्धी मुद्दा टुङ्गयाउन नसकेको समयमा गत वर्ष स्थानीय तहको चुनाव भएको थियो । स्थानीय चुनाव भई जनप्रतिनिधि आए लगत्तै जिल्लाका स्थानीय तहले जनसत्ता रजिष्ट्रेसनको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरे थिए ।

 

चौरजहारी नगरपालिकाले पहिलो नगर सभाबाटै जनसत्ता रजिष्ट्रेसनलाई ठगी अन्तरगत राखी पास नदिनेलाई स्थानीय सरकारका सेवा सुविधा रोक्का गर्ने निति तथा कार्यक्रम समेत पास गरेको थियो । 

 

स्थानीय सरकारले जनसत्ता रजिष्ट्रेसनलाई कार्यान्वयन गर्ने निर्णय गरेपछि वर्षौ पछि न्याय पाउने आशमा स्थानीयले स्थानीय तहको न्यायीक समितिमा मुद्दा दर्ता गरेका हुन् । तर उक्त मुद्धामा न्यायिक समितिले निर्णय गर्ने अधिकार नभएपछि मुद्धाहरु समितिमै थन्किएका छन् । 

 

चौरजहारी न्यायीक समितिका संयोजक राधा रोकाले यसमा न्यायिक समितिले केहि गर्न नसक्ने बताउनुभयो । ‘हामी कहाँ जनसत्ता रजिष्ट्रेसन सम्बन्धि ४५ वटा मुद्दा दर्ता भएका छन्, तर के गर्ने कानुनले हाम्रा हात बाँधी दिएको छ, जनसत्ता सम्बन्धिका मुद्धा हेर्न अधिकार न्यायिक समितिलाई छैन् ।’ 

 

समितिमा आएका जति सबै निवेदन सुरक्षित राखेको र यससम्बन्धी थप केहि कानुन बनेमा सोही अनुसार अगाडि बढ्ने उहाँको भनाई छ । निवेदन दिनेहरुले ठगि भयो भनेर नदिएका कारण पनि न्याय दिन समस्या भएको रोकाले बताउनुभयो ।

 

नगरपालिकाले ठगि भयो भनेर कसैले निवेदन दिएमा त्यसमा सुनुवाई गर्ने निति लिएको र सो अनुसार कुनैपनि निवेदन नआएको बताईएको छ । जनसत्तामा रजिष्ट्रेसन कार्यान्वयन गरिपाउँ र जग्गा किचलो सम्बन्धि मुद्दा दर्ता भएको संयोजक रोकाको भनाइ छ ।

 

चौरजहारीमा मात्रै नभएर जिल्लाका अन्य स्थानीय तहमा पनि यो समस्या यथावत नै छ ।