• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

कार्यक्रम सकिएकोप्रति सरोकारवाला चिन्तित

image not found

सानीभेरी समाचार डेस्क

असोज, १७ ।

रुकुममा सञ्चालित संक्रमणकालीन न्याय र शान्ति प्रवद्र्धनका लागि स्थानीय क्षमता विकास कार्यक्रम सकिएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । मानव अधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र (हरप्लेस) नेपालद्वारा जिल्लाका विभिन्न ठाउँमा संचालित क्षमता विकास कार्यक्रम सकिएको प्रति चिन्तित बनेका हुन् ।

 

आज मुसिकोटमा भएको सिकाई आदानप्रदान कार्यक्रममा बोल्दै सहभागीहरुले संक्रमणकालीन न्यायको प्रक्रियाबारे द्वन्द्वपीडितहरुलाई सहजिकरण गरिरहेको अवस्थामा सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगबाट पीडितका काम नटुंगिदै यो कार्यक्रम सकिँदा अलमल हुने बताएका छन् । 

 

गभर्नेन्स फ्यासिलिटीको सहयोगमा सन् २०१५ नोभेम्बरदेखि जिल्लाको साविकका रुँघा, खारा, मुरु, पेउघा र भलाक्चा गाविसमा सञ्चालित उक्त कार्यक्रमबाट द्वन्द्वपीडितहरुले आफ्ना अधिकार, संक्रमणकालीन न्यायको प्रक्रिया लगायत सेवा प्राप्त गर्ने विधि प्रक्रियाबारे सहजिकरण गरिएको हरप्लेसले जनाएको छ । 

 

परियोजना अन्तर्गत जिल्ला स्तरमा सशस्त्र द्वन्द्वको क्रममा तत्कालीन राज्यपक्ष र विद्रोही पक्षबाट मारिएका ६ सय ६८ जनाको नाममा शान्ति स्मारक निर्माण गरिएको हरप्लेस नेपाल रुकुमका जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले बताउनुभयो । 

 

त्यस्तै द्वन्द्वपीडितहरुलाई संगठित गर्दै उनीहरुको क्षमता विकासका क्रियाकलापहरु सञ्चालन गरेको, जिल्ला स्तरीय सरोकारवालाहरुसँग नियमित अन्तरसंवाद, छलफल गर्ने, कार्यक्षेत्रका ५ विद्यालयमा मानवअधिकार तथा सुशासन शिक्षा सञ्चालन, युवा, सुरक्षाकर्मीहरु लाई मानवअधिकार सम्बन्धी तालिम सञ्चालन लगायतका क्रियाकलापहरु यस अवधिमा सम्पन्न गरिएको हरप्लेसले जनाएको छ । 

कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिका स्तरीय द्वन्द्वपीडित सञ्जालका अध्यक्ष ओमप्रकाश बोहराले आगामी दिनमा यो कार्यक्रम थप गर्दै बाँकी रहेका काम पुरा होउन्जेलसम्म सहयोग गर्नुपर्ने बताउनुभयो । सत्य निरुपन तथा मेलमिलाप आयोगले काम गर्न ढिला गरेको भन्दै त्यसका लागि दवाव दिनुपर्ने, स्थानीय सरकारले पनि पीडितका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने लगायतका सुझाव दिनुभयो । 

 

कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका सदस्य टेकबहादुर ओलीले तत्कालीन समयमा दुवैपक्षबाट पीडित बनेकाहरुलाई एकै ठाउँमा ल्याएर सद्भाव कायम गर्दै क्षमता विकास गरेकोमा धन्यवाद दिनुभयो । 

 

त्यस्तै कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनारले हरप्लेसले पछाडि पारिएका, अन्याय अत्याचारमा परेका पीडितको पक्षमा वकालत गर्दै आएको स्मरण गर्दै यस कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सबैको तर्फबाट राम्रै प्रतिक्रिया आएकोले परियोजनाले प्रभावकारी काम गरेको मूल्यांकन गरिएको बताउनुभयो । 

कार्यक्रममा नरसिंह दल गण रुकुम पश्चिमका गणपति दिनेश गौतम, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख इन्स्पेक्टर ऋषिकुमार ढुंगाना, मुसिकोट नगरपालिका –१ का वडाध्यक्ष विरबल केसी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख भगेन्द्र चन्द, विभिन्न सरकारी तथा गैरसरकारी निकाय प्रमुख तथा प्रतिनिधि, पत्रकार, लक्षित समुदायका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 

 

हरप्लेस नेपालका उपाध्यक्ष सुनिता बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन हरप्लेसका जिल्ला अधिकृत महेश केसीले गर्नुभएको थियो ।