• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमासाथि सँग मनका कुरा

ताजा अपडेट :

समाचार

‘जलविद्युतमा जनतालाई शेयर दिने मोडालिटी छिट्टै सार्वजनिक हुने’

image not found

बिराटनगर, २८ मंसिर । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले जलविद्युत आयोजनाहरुमा जनतालाई शेयर दिने मोडालिटी केही दिनमै सार्वजनिक गर्ने जानकारी दिनुभएको छ । 

प्रेस सेन्टर नेपाल मोरङ शाखाले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । 

“जलविद्युत आयोजनाहरुमा जनतालाई के कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा उर्जा मन्त्रालयले मोडालिटी तयार गरिरहेको छ, त्यो छिट्टै सार्वजनिक गरिनेछ” मन्त्री शर्माले भन्नुभयो । 

‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तरगत सरकारले निर्माण गर्ने जलविद्युत आयोजनाहरुमा जनतालाई ३० प्रतिशत शेयर दिने नीति रहेको छ । 

मन्त्री शर्माले लोडसेडिङ फेरी नफर्काउने गरी मन्त्रालय र विद्युत प्राधिकरणले काम गरिरहेको जानकारी दिनुभयो । 

प्राधिकरणभित्रको अनियमितता र भद्रगोल अन्त्य गरी लोडसेडिङ हटाइएको भन्दै मन्त्री शर्माले यसलाई निरन्तरता दिन मन्त्रालय लागिपरेको जानकारी दिनुभयो । 

लोडसेडिङ अन्त्य भएपछि व्यापार व्यवसाय, शान्ति सुरक्षा र समग्र अर्थतन्त्रको क्षेत्रमा उत्साहजनक सुधार आएको भन्दै मन्त्री शर्माले लोडसेडिङ सदाको लागि अन्त्य गर्ने गृहकार्य भइरहेको बताउनुुभयो । 

उहाँले अँध्यारोको विरुद्ध उज्यालो ल्याउने अभियानमा बाधा हाल्ने कसैलाई पनि नछाड्ने चेतावनी दिनुभयो । मन्त्रालयले स्पष्टीकरण सोधेका ३ जना प्राधिकरण संचालकहरुतर्फ संकेत गर्दै मन्त्री शर्माले उज्यालो अभियानमा अबरोध खडा गर्नेलाई कार्वाही गरेरै छाड्ने चेतावनी दिनुभएको हो । प्राधिकरणले विद्युत उत्पादन कम्पनी मार्फत अपर अरुण निर्माण गर्ने प्रस्ताव अघि सारेपछि प्राधिरणका संचालकहरु लक्ष्मण प्रसाद अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेले त्यसको विरोध गरेका थिए । उनीहरुले बोर्डका अध्यक्ष विनाको बैठक राखी ‘नक्कली माइन्युट’ तयार गरी संचार माध्यमहरुलाई वितरण गरेको कारण देखाउदै उर्जा मन्त्रालयले उनीहरुमाथि स्पष्टीकरण सोधेको छ ।