• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

अढाई महिना देखि तालाबन्दी

image not found

सानीभेरी समाचार डेस्क असोज ६ ।

रुकुम उद्योग वाणिज्य संघमा अढाई महिना देखि तालाबन्दी छ । संघकै आधा कार्यसमितिले गत असार २२ गते संघको मुसीकोट खलंगा स्थित कार्यालयमा तालाबन्दी गरेको हो । 

 

। गत असार २२ गते १२ औं अविधेशन उद्घाटनको अन्तिम तयारी भैरहेको बेला व्यापारीहरुले उद्योग वाणिज्य संघले हिसाव किताव सार्वजनिक नगरेको भन्दै नारावाजी गर्दै अधिवेशन रोकेका थिए । 

 

उनिहरुले उद्योग वाणिज्य संघ नविकरण हुन नसकेको, बर्तमान कार्य समितिको लापरबाहीको कारण व्यापार व्यवसायीले तिरेको पैसा हिनामिना भएको र वर्षको लेखा परीक्षण नगरेको आरोप लगाएका छन् । 

 

त्यस्तै रुकुम उद्योग वाणिज्य संघले २०७३ को फागुनमा गरेको मध्यपश्चिम महोत्सवको हिसाव किताव सार्वजनिक नगरेको र आर्थिक वर्ष २०७३÷०७४ देखि यताको लेखा परीक्षण नगरेको पनि असन्तुष्ट व्यापार व्यवशायिहरुको आरोप छ । 

 

संघको कार्यालयमा लगार्ईएको ताला खोल्नका लागि छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन् । जिल्ला प्रशासन कार्यालयको रोहबरमा एक पटक छलफल भएको थियो । 

 

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले दुवै पक्षलाई बोलाएर उद्योग वाणिज्य संघमा देखिएको विवाद मिलाउँने प्रयास गरिएको बताउनुभयो । दुवै पक्षलाई बोलाएर दुई वटा प्रस्तावमा छलफल भएको उहाँको भनाई छ ।  

 

‘दुवै पक्षबाट समान सदस्य रहने गरी चुनाव गराउँनका लागि एउटा छुट्टै समिति गठन गर्ने, उक्त समितिले नै संघमा भएको भनिएको अनियमितता सम्बन्धी अनुसन्धान गरी प्रतिवेदन तयार पार्ने र उक्त प्रतिवेदन नयाँ निर्वाचित हुने कार्यसमितिले तत्काल साधारण सभा बोलाई पेश गर्ने त्यसपछि साधारण सभाले गर्ने निर्णयका आधारमा अगाडि बढ्ने गरी मैले प्रस्ताव गरेको थिए उहाँले भन्नुभयो ।’ 

 

यस प्रस्तावमा तालाबन्दी गर्ने पक्ष सहमत भएको तर वर्तमान अध्यक्ष टेकवहादुर पुनले यसमा थप छलफलको आवश्यकता रहेकाले समय माग गरेको र सोही अनुसार समय दिईएको तर अहिलेसम्म कुनै ठोस जानकारी नआएको उहाँको भनाई छ । 

 

वर्तमान अध्यक्ष टेकवहादुर पुन आफु नेतृत्वकै कार्य समितिले चुनाव गराउँनुपर्ने अडानमा हुनुहुन्छ । विधानत् नयाँ कार्य समिति नआउञ्जेल सम्मका लागि पुरानै कार्यसमितिले काम गर्न पाउँने अधिकार रहेको उहाँको दाबी छ । 

 

तदर्थ समिति गठन गरेर गराएको चुनावको वैधानिकता माथि नै प्रश्न उठ्न सक्ने उहाँले बताउनुभयो । तर असन्तुष्ट संघकै आधा कार्य समिति भने वर्तमान कार्यसमिति अवैधानिक भैसकेको दाबी गर्छ । संघका वर्तमान कोषाध्यक्ष राजनकुमार पुनले एक पक्षको नेतृत्व गरिरहनुभएको छ । 

 

उहाँकै नतृत्वको समुहले संघको कार्यालयमा तालाबन्दी गरेको हो । उहाँ प्रगतिशिल प्यानलबाट नयाँ कार्यसमितिका लागि अध्यक्षको उम्मेदवार समेत हुनुहुन्छ । 

 

२०७४ सालको मंसिरमै पदावधि सकिएको र अधिवेशन गराउँन ६ महिनाका लागि थपिएको म्याद पनि गत जेठ पहिलो साता सकिएकाले संघ अवैधानिक भैसकेको पुनले बताउनुभयो । 

 

दुवै पक्ष आ–आफ्नो अडानबाट टसको मस नभएपछि अढाई महिना देखि रुकुम उद्योग वाणिज्य संघको सम्पुर्ण काम काज ठप्प छ ।