• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

आज संविधान दिवस मनाइदै, टुँडिखेलका विषेश कार्यक्रम

असोज ३ ।

नेपालको संविधान जारी भएको तीन वर्ष पूरा भएको छ । चौथो वर्षमा प्रवेश गरेको अवसरमा आज संविधान दिवस मनाइँदैछ । पहिलो पटक सरकारले राष्ट्रिय दिवसका रुपमा मनाउन लागेको हो । 

 

दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । त्यस्तै देशभरमा विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाईदै छ । 

 

दिवसको अवसरमा रुकुम पश्चिममा आज बिहान प्रभात फेरी निकालिएको छ । कालिका स्थानबाट सुरु भएको ¥याली खलंगा बजार परिक्रमा गर्दै जिल्ला समन्वय समितिमा पुगेर मञ्चको कार्यक्रममा परिणत भएको थियो । 

 

त्यस्तै दिवसको अवसरमा रुकुम पूर्वमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । पूर्व, पश्चिम दुवै जिल्लामा ¥याली, सरसफाई र दिपावली लगाएतका कार्यक्रमको आयोजना गरिएको छ ।

 

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले मूलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताउनुभएको छ । 

 

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ ।

 

सन्देशमा राष्ट्रपति भण्डारीले सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात् गर्दै सबै जनप्रतिनिधि मूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिकलाई क्रियाशील हुन अपिल गर्नु भएको छ । 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संविधान दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै संविधानले नेपाली जनताको आकांक्षा र आशा मात्रै नभइ मान्यता र सिद्धान्तलाई समेत समेटेको उल्लेख गर्नुभएको छ । 

 

प्रधानमन्त्रीले संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुननिश्चित गरेको बताउँदै संविधानले हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको उल्लेख गर्नुभएको छ ।