• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुममा करिब ४ हजार लिटर घरेलु मदिरा नष्ट

रुकुम

जिल्ला प्रहरी कार्यालय रुकुमले करिब ४ हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । १ महिनादेखि थालिएको मदिरा नियन्त्रण अभियान अन्तरगत हालसम्म करिब ४ हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरिक्षक थम्मनबहादुर रजालीले जानकारी दिनुभयो ।
 
अहिलेसम्म सबैभन्दा बढी सदरमुकाम मुसिकोट नगरपालिकाबाट घरेलु मदिरा बरामद गरिएको उहाँको भनाई छ । त्यस्तै जिल्लाका चौरजहारी नगरपालीका, रुकुमकोट,  आठविसकोट, झुल्नेटा, सिम्रुतु, बाँफकोट, छिवाङ लगाएत ठाउँमा पनि मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
 
घरेलु मदिरा उत्पादन तथा विक्रि वितरण गर्न कानुनले बन्देज गरेपनि यो क्रम नरोकिएको र मदिराका कारण विभिन्न अपराधिक कृयाकलाप बढन् थालेपछि मदिरा नियन्त्रण अभियाननै संचालन गर्नुपरेको प्रहरी निरिक्षक रजालीले बताउनुभयो ।
 
प्रहरीले मदिरा नियन्त्रण अभियान संचालन गरिरहदा जिल्लामा घरेलु मदिरा  बिक्रि वितरणका लागि राज्यले कानुनि मान्यता दिनुपर्ने आवाज उठ्न थालेको छ । राज्यले केही राजश्व लिएर भएपनि घरेलु मदिरालाई मान्यता दिनुपर्ने नेकपा माओवादी केन्द्रका जिल्ला सम्मेलन आयोजक समिति सदस्य तिलक शर्माको भनाई छ ।
 
घरेलु मदिरालाई रोजिरोटीको आधार बनाएकाहरुलाई मदिरा नष्ट गरेर राज्यले झन गरिब बनाउन लागेको उहाँकोे भनाई छ । त्यस्तै खोलागाउँका व्यापारी बिरेन्द्र विसीले सरकारले ठुला कम्पनीलाई मदिरा उत्पादन गर्न दिने तर गरिबलाई उत्पादन गर्न नदिने निति लिएकाले राज्यले निरंकुसता प्रकट गर्न खोजेको आरोप लगाउनुभयो ।।