• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

पुनर्निर्माण कार्य अलपत्र

image not found

सानीभेरी समाचार डेस्क भाद्र ३१ ।

रुकुम(पश्चिम)मा सशस्त्र द्वन्द्वको क्रममा क्षति भएका संरचनाको पुनर्निर्माण कार्य अलपत्र परेको छ । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयद्वारा सञ्चालित अधिकांश संरचना हाल अधुरै अवस्थामा छ ।

 

मन्त्रालयले आर्थिक वर्ष ०६४÷६५ देखि ०७२÷७३ सम्म जिल्ला विकास समिति तथा जिल्ला प्राविधिक कार्यालयमार्फत काम गरेको थियो । मन्त्रालयको ‘पीवान’ अन्तर्गतको पुनर्निर्माण तथा पुनस्र्थापना शीर्षकका १८ भौतिक संरचना अलपत्र अवस्थामा छन् । 

 

पछिल्लो पटक मन्त्रालय खारेज भएको र अन्य स्थानीय तहले ती संरचनामा बजेट नहाल्दा संरचना भत्किने अवस्था सिर्जना हुन थालेको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालय खारेज भएपछि जिल्लाका १० विद्यालय, पाँच साबिकका गाविस भवन (हाल वडाभवन), दुई स्वास्थ्यचौकी भवन र एउटा स्मृति प्रतिष्ठानको भवन अलपत्र छ । 

 

विद्यार्थीले विद्यालय भवन र कक्षाकोठा अभावमा समस्या झेलिरहेका छन् । वडा कार्यालयहरू भने भाडाका घरमा सञ्चालित छन् । निर्माणाधीन संरचना पूर्ण नहुँदा समस्या भइरहेको जनप्रतिनिधिको गुनासो छ । 

 

बाँफिकोट गाउँपालिकाको २ र ६ नम्बर वडा तथा साबिकका पीपल तथा मग्मा गाविस भवनको निर्माण कार्य अलपत्र छ । भवन निर्माणको काम अन्तिम चरणमा आउने बेला बजेट नआएपछि संरचना जीर्ण बन्न थालेका छन् । 

 

चौरजहारी नगरपालिकाको १४ नम्बर वडा तथा २ नम्बर वडाको भवन पनि अलपत्र छ । सानीभेरी गाउँपालिका–३, साबिकको गरायला गाविसको भवन निर्माण भइसकेको छैन । यसैगरी स्वास्थ्य चौकी चौरजहारीको भवन र रुकुम(पूर्व) भूमे गाउँपालिका–२ को काँक्री स्वास्थ्य चौकीको निर्माण पनि अधुरै छ । 

 

जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर पहलबहादुर पुनले एक वर्षको बजेट नरोकिएको भए १८ मध्ये धेरै संरचना निर्माण भइसक्ने अवस्था रहेको बताउनुभयो । जिल्ला प्राविधिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७४र०७५ मा पनि ती संरचना निर्माणका लागि बजेट आएको थियो । 

 

तर, स्थानीय तहले शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट आएको बजेट पनि अर्कै शीर्षकमा विनियोजन गरेपछि निर्माणाधीन संरचना अलपत्र रहेका हुन् ।