• अहिले तरंगमा
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

भाग्यमानि माल्दिभ्सलाई हराउँदै इतिहाँस रच्ने दाउमा नेपाल

image not found

सानीभेरी समाचार डेस्क

भाद्र, २७ ।

 

दक्षिण एसियाली फुटबल(साफ)को पहिलो सेमिफाइनलमा आज दिउँसो पौने चार बजे ढाकास्थित बंगबन्धु स्टेडियममा नेपालले माल्दिभ्सको सामना गर्दैछ। दुबै टोली प्रतिकुल यात्रालाई पन्छाउँदै सेमिफाइनलमा पुगेका हुन्। 

 

समूह ए को विजेता बन्दै अन्तिम चारमा प्रवेश गर्न नेपालले अट्याकिङ पावर देखाएको छ। समूहको पहिलो खेलमा पाकिस्तानसँग झिनो अन्तरले९२–१० अन्तरले पराजित भएपनि दोस्रो खेलमा भुटानलाई ४–०ले ध्वस्त गरेको नेपालले अन्तिम खेलमा आयोजक बंगलादेशलाई २–० ले स्तब्ध पारेको थियो।

 

अर्कातर्फ माल्दिभ्सको सेमिफाइनल यात्रा भने गोलविहीन रह्यो। पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको समूह बीको माल्दिभ्सले दोस्रो खेलमा भारतलाई २–० ले नतिजा सुम्पिएको थियो। तर, पनि भाग्यले साथ दिएपछि श्रीलंकासँग समान अंक र गोलअन्तर भएको माल्दिभ्स गोलाप्रथामा भाग्यमानी बन्दै सेमिफाइनलमा प्रवेश गर्यो।

 

साफमा समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्ने प्रावधान छ। नियमानुसार समान अंक र गोलअन्तर भए गोलाप्रथा गर्दै दोस्रो चरणमा पुग्ने टोलीको टुंगो लगाइन्छ। भारतविरुद्ध समूहको अन्तिम खेलमा पराजित भएपछि माल्दिभ्सको श्रीलंकासँगै समान १ अंक र समान माइनस २ गोलअन्तर भएको थियो। त्यसपछि भएको गोलाप्रथामा माल्दिभ्स विजेता बन्यो।

 

नेपाली प्रशिक्षक बालगोपाल महर्जन माल्दिभ्सको चुनौती सजिलै पार लगाउनेमा विश्वस्त छन्। उनले भने, ‘साफमा हामी यसअघि कहिलै फाइनलमा प्रवेश गर्न सकेका छैनौं। आजको खेलबाट भने नेपाली फुटबलमा नयाँ कथा लेखिनेमा म विश्वस्त छु। खेलाडीहरुले प्रदर्शनबाट त्यो सम्भावना देखाएका छन्।’

 

सार्क गोल्डकपबाट सन् १९९३ मा सुरु भएको दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफको इतिहास २५ वर्षमा पुगिसक्यो। यसअवधिमा नेपालको सबैभन्दा ठूलो उपलब्धि सेमिफाइनलमात्रै हो। जारी १२औं संस्करणमा नेपाल सेमिफाइनल पुगेको चौथो पटक हो। यसअघि सन् १९९९, २०११ र २०१३ मा नेपालको यात्रा सेमिफाइनलमा टुंग्गिएको थियो।

 

साफ च्याम्पियन्ससिपमा नेपाल माल्दिभ्ससँग ६ चोटी भिडेको छ। जसमा नेपाल जितविहीन छ। चार खेल माल्दिभ्सले जितेको छ भने २ खेलबराबरीमा टुंग्गिएका छन्। पछिल्ला दुई सेमिफाइनलमा भने नेपालले माल्दिभ्सलाई ठूलो अन्तरले पराजित गरेको छ।सन् २०१६ मा बंगलादेशमै भएको बंगबन्धु गोल्डकपमा ४–० र भारतमा भएको १२ औं सागको सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गरेको थियो।

 

माल्दिभ्सका प्रशिक्षक पिटर सिग्रिटले यसअघि भाग्यले साथ दिएर सेमिफाइनलमा पुगेपनि नतिजा निकाल्ने दाबी गरेका छन्।

 

उनले भने, ‘नेपाल बलियो टोली हो। हामी फाइनलमा पुग्न आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछौं। सेमिफाइनलमा पुग्नु हाम्रो भाग्य थियो तर हामीले अब नतिजाका लागि खेल्नैपर्छ। हामीले आफ्नो सिस्टम परिवर्तन गर्दै खेल्नेछौं।’

 

२००९ पछि माल्दिभ्स पहिलोपटक फाइनलमा पुग्ने उदेश्यसहित नेपालसँग खेल्दैछ। २०११, २०१३ र २०१५ मा सेमिफाइनलमा पुगेपनि माल्दिभ्स पराजित हुँदै आएको छ। तर, मुख्य प्रशिक्षक पिटर भने विगतको नतिजाले असर नपुर्याउने बताउँछन्। ‘म पूराना रेकर्डहरुको मतलब गर्दिन,’ उनले भने, ‘भविष्य महत्वपूर्ण छ। आज हामी चाहे त्यो नब्बे मिनेटमा होस या पेनाल्टी सहितको १ सय २० मिनेटमा हामी जितको प्रयासमा हुनेछौं।’