• अहिले तरंगमा
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

रुकुम(पश्चिम)मा बाल श्रमिकको संख्या घट्यो

image not found

सानीभेरी समाचार डेस्क

भाद्र, २७ ।

 

रुकुम(पश्चिम)मा बाल श्रमिकको संख्या घटेको छ । जिल्ला बाल कल्याण समितिका अनुसार जिल्लामा वर्षेनि बाल श्रमिकको संख्या घट्दै गैरहेको छ । २०७० सालमा लिएको तथ्यांक अनुसार जिल्लामा ४१ जना बाल श्रमिकहरु रहेका थिए । 

 

होटेल, ग्यारेज, यातायातका साधन लगाएतमा श्रम गरिरहेका ३९ बालक र २ बालिका गरी ४१ जना बाल श्रमिक रहेकामा अहिले उक्त संख्यामा उल्लेख्य कमि आएको छ । 

 

२०७२ सालमा लिईएको तथ्यांकमा २४ बालक र ३ बालिका गरी २७ जना र २०७४ को तथ्यांक अनुसार जिल्लामा १५ बालक र २ बालिका गरी १७ जना बाल श्रमिक रहेका थिए । तर हाल भने तीन जना मात्र बाल श्रमिक फेला परेको जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत मानबिर ओलीले जानकारी दिनुभयो । 

 

आज गरिएको अनुगमणका क्रममा ३ जना बाल श्रमिक मात्र फेला परेको उहाँको भनाई छ । ‘जिल्लामा बाल श्रमिकको संख्या उल्लेख्य रुपमा घट्दै गैरहेको छ, उनले भने–४१ जनासम्म बाल श्रमिक रहेको जिल्लामा उक्त संख्या घटेर तीन जनामा झर्नुलाई ठुलो उपलब्धीका रुपमा लिएका छौं ।’ 

 

मुसीकोट नगरपालिकाको आयोजना तथा जिल्ला बालकल्याण समितिको संयोजनमा भएको आजको अनुगमणका क्रममा तीन जनाबाट बाल श्रमिक भेटिएपनि अझै २, ४ जना बाल श्रमिक भने फेला पर्न नसकेको हुनसक्ने उहाँले बताउनुभयो । 

 

बेला बेलामा गरिने अनुगमण, बाल श्रमिक राख्नु हुँदैन भन्ने सचेतना, बाल श्रमिकको व्यवस्थापन, सरोकारवालाहरुका विचमा अन्तरक्रिया, प्रचार प्रसार लगाएतका कारणले बाल श्रमिकको संख्या घटेको ओलीले बताउनुभयो । 

 

उहाँका अनुसार हालसम्म जिल्लाबाट एकै परिवारका ४ सहित ६ जना बाल श्रमिकलाई उद्दार गरी बालगृहमा पठाईएको छ । मुसीकोट नगरपालिकाकी उपप्रमुख प्रेमकुमारी सुनारको नेतृत्वमा भएको अनुगमणमा विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सभागीता रहेको थियो ।।