• अहिले तरंगमाआधुनिक गितहरु
  • केहि छिनमारेडियो प्रशारण सेवा समापन

ताजा अपडेट :

समाचार

गोली लागेर तरुन दलका नगर अध्यक्षको मृत्यु, हत्याको बिरोधमा रोल्पा बन्द

image not found

सानीभेरी समाचार डेस्क

भाद्र, २५ । 

 

रोल्पाको सुलिचौरमा आइतबार बेलुकी गोली चल्दा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय सुलिचौरको नजिकै रहेको रेस्ट पोइन्ट रेष्टुरेन्ट एण्ड बारमा बेलुकी ५ बजेतिर गोली चल्दा रोल्पा नगरपालिका–२, रेउघाका २९ वर्षीय रोहित पुनको मृत्यु भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताउनुभयो । 

 

घटनामा संलग्न भएको आरोपमा प्रहरीले रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय देवबहादुर घर्तीलाई पक्राउ गरेको छ । उनको साथबाट पेस्तोल र उनले प्रयोग गरेको बा १२ च ७३५२ नम्बरको कार पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

 

पुनको छातीमा ३ गोली लागेको बताइएको छ । पुन नेपाल तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष हुन् । पक्राउ परेका घर्ती तत्कालीन माओवादी केन्द्र समर्थक रहेको जनाइएको छ । अपराधिक क्रियाकलापमा संलग्न घर्ती यसअघि पनि पटक–पटक जेल परेका थिए । 

 

राजनीतिक संरक्षणका कारण उनी जेलबाट छुट्ने गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैविच नेपाल तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष पुनको गोली हानी हत्या भएको विरोधमा तरुण दल रोल्पाले आज रोल्पा बन्द गरेको छ ।

 

इलाका प्रहरी कार्यालय सुलिचौरको नजिकै रहेको रेष्टुरेन्टमा आइतबार बेलुकी पुनको गोली हानी हत्या गर्ने केही व्यक्तिहरु फरार रहेकाले उनीहरुलाई पक्राउ गरी कडा कारबाही हुनुपर्ने माग गर्दै बन्द आह्वान गरिएको तरुण दल रोल्पाका सचिव लिलाधर आचार्यले जानकारी दिनुभयो । 

 

बन्दका कारण बजार, शिक्षण संस्था र यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ ।।