• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

महिलाहरुद्धारा प्रभावकारी प्रसुती सेवाको माग

सानीभेरी समाचार डेस्क भाद्र २१ ।

रुकुम(पश्चिम)को त्रिवेणी गाउँपालिकाका महिलाहरुले प्रभावकारी प्रसुति सेवाको माग गरेका छन् । आमा तथा गर्भवती महिलाहरुले सामुहिक रुपमा गाउँपालिकालाई माग पत्र बुझाउँदै प्रभावकारी प्रसुति सेवाको माग गरेका हुन् । 

 

त्रिवेणि गाउँपालिका २ मा रहेको स्वास्थ्य चौकी सिम्रुतुमा बर्थिङ सेन्टर छ । तर उक्त बर्थिङ सेन्टरबाट प्रभावकारी सेवा पाउँन नसकेको भन्दै महिलाहरुले प्रभावकारी प्रसुति सेवाको माग गरेको बताएका छन् । 

 

सिम्रुतु स्वास्थ्य चौकीमा रहेको प्रसुती गृहमा सुत्केरी हुन आउने महिलाहरुले उक्त गृहबाट प्रदान हुने सेवा स्रोत साधनको अभावका कारण प्रभावकारी हुन नसकेको भन्दै सेवालाई प्रभावकारी बनाउनका लागी बिभिन्न मागहरु राखेर स्वास्थ्य चौकी सिम्रुतु मार्फत गाउँपालिका समक्ष माग पत्र पेश गरेका हुन् । 

 

प्रसुति जस्तो संवेदनशिल सेवा नै प्रभावकारी नभएपछि आमा र शिशुको स्वास्थ्य जोखिममा रहेकाले सेवा प्रभावकारी बनाउँन माग गरिएको सुत्केरी गंगा चन्दले बताउनुभयो । 

 

चन्दले बर्थिङ सेन्टरमा दक्ष र प्रर्याप्त जनशक्ति व्यवस्था गर्नुपर्ने, सुत्केरीलाई मौसम अनुसारको तापक्रमको व्यवस्था गर्नुपर्ने, बच्चा जन्मिसकेपछि न्यानो कपडाको व्यवस्था गर्नुपर्ने, प्रत्येक टोलमा स्ट्रेचरको व्यवस्था गर्नुपर्ने, गाउँपालिकामा एउटा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने र सुत्केरी महिलाका लागि भनेर आएको बजेट रकमान्तर नगरी उल्लेखित शीर्षकमै खर्च गर्नुपर्ने लगाएतका माग राखिएको जानकारी दिनुभयो । 

 

महिलाहरुले बुझाएको माग पत्र बुझ्दै स्वास्थ्य चौकी प्रमुख भिमवहादुर चन्दले माग पत्र गाउँपालिकामा बुझाउँने प्रतिबद्धता जनाउनुभयो । महिलाहरुले राखेका मागहरु जाहेज रहेको र स्वास्थ्य चौकीका तर्फबाट सबै माग पुरा गर्न नसकिने भएकाले गाउँपालिका र त्यो भन्दा माथिल्लो तहबाट पहल हुनेपर्ने उहाँको भनाई छ ।

 

यसका लागि आफुले सक्दो पहल गर्ने पनि उहाँले बताउनुभयो । आवश्यक प्राविधि, दक्ष जनशक्ति र आवश्क भौतिक पुर्वाधारको अभावमा आफुहरुले जसोतसो सेवा दिईरहेको प्रमुख चन्दको भनाई छ । 

 

त्यस्तै महिलाहरुले राखेको माग प्रति स्थानीय सरकार गम्भिर रहेको गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले बताउनुभयो । प्रसुति सेवा संगै सिंगो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँने गाउँपालिकाको योजना रहेको उहाँले बताउनुभयो ।