• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रूकुम पूर्व भूमे गाउँपालिकाको ‘भूमे दर्पण’ र वृत्तचित्र सार्वजनिक

image not found

सानीभेरी समाचार डेस्क भाद्र १२ ।

रूकुम(पूर्व)को भूमे गाउँपालिकाबारे पर्यटकीय जानकारी दिने पुस्तक ‘भूमे दर्पण’ र तीन वटा वृत्तचित्र एकसाथ सार्वजनिक गरिएको छ । भूमे गाउँपालिका द्वारा राजधानीमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले एकसाथ पुस्तक र वृत्तचित्र सार्वजनिक गर्नुभएको हो ।

 

चेन्जिङ्ग नेपालका सुरेन्द्र रानाले लेखेको पुस्तक ‘भूमे दर्पण’ मा सिंगो गाउँपालिकाको प्राकृतिक सम्पदा, मगर संस्कृति र जीवनशैली सचित्र चित्रण गरिएको छ । माओवादी जनयुद्वको उद्गमथलो समेत मानिएको भूमे क्षेत्रका जनयुद्वसँग जोडिएका सम्पदालाई समेटेको छ ।

 

रूकुम पूर्वको ‘भूमे गाउँपालिकाको वृत्तचित्र तथा चिनारी’ नामक पुस्तकको काठमाडौंमा विमोचन गर्दै सभामुख महराले रुकुम पूर्वको समृद्धिमा यहाँका जनप्रतिनिधिहरूसँग एउटै आवाजका साथ आफू पनि अघि बढ्ने आश्वासन समेत दिनुभयो ।

 

सभामुख महराले रुकुम पूर्वको विगतको गुरिल्ला युद्ध, संस्कृति र प्राकृतिक सम्पदालाई विश्वकै सम्पदाको रूपमा स्थापित गराउन सकिने सम्भावना पनि औंल्याउनुभयो । तत्कालीन माओवादी जनयुद्धको सुरुवात भएको रुकुम जिल्लालाई गुरिल्ला युद्धको उद्गम स्थलको रूपमा लिने गरिन्छ ।

 

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले रुकुम पूर्वमा गुरिल्ला पर्यटन विकासका लागि सरकारले आवश्यक सबै खालको सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

उहाँले उक्त पर्यटनका लागि सरकारले यस वर्ष पनि बजेटको व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई बहुवर्षीय योजनाको रूपमा अघि बढाउने घोषणा पनि गर्नुभयो । गाउँपालिका अध्यक्ष रामसुर बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य कमला रोका, पूर्वमन्त्रीहरु गणेशमान पुन, दलजित शेर्पाली लगायतको उपस्थिति रहेको थियो । 

 

सो अवसरमा भूमे चिनारी पुस्तिकाको विमोचन गरिएको थियो भने गुरिल्ला पर्यटन र भूमे गाउँपालिका नामक दुईवटा वृत्तचित्र प्रदर्शन गरिएको थियो । त्यस्तै, भूमे गाउँपालिका सम्बन्धी विभिन्न तस्बिरहरु प्रदर्शनीमा पनि राखिएको थियो ।