• अहिले तरंगमा
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

एउटै सचिवको भागमा तीन वडा

image not found

सानीभेरी समाचार डेस्क 

भाद्र, ६ ।

 

रुकुम(पश्चिम)मा एउटै सचिवले तीन वटा सम्म वडा हेरिरहेका छन् । जिल्लाको बाँफिकोट गाउँपालिकामा एकै सचिवले तीन वडा सम्म वडाको काम गरिरहेका छन् । गाउँपालिकाको वडा नं. ३, ४ र ५ नम्बर वडाको सचिवमा ज्ञानवहादुर खड्का रहनुभएको छ । 

 

तीन वडाको सचिवको जिम्मेवारी सम्हाल्ने उहाँ एक्ला भने हुनुहुन्न । सोही गाउँपालिकाका वडा नं. १, २ र ९ पनि एउटै सचिवको भरमा चलिरहेका छन् । उक्त तीन वडाको सचिवको जिम्मेवारी देववहादुर चन्दले सम्हालिरहनुभएको छ । 

 

वडा नम्बर ६ र ७ को जिम्मेवारी मोहोन ओलीलाई दिईएको छ । यस गाउँपालिकाका १० मध्ये एउटा वडा मात्र एकल सचिवको जिम्मामा छ भने एक वडा कार्यालय सहायकको भरमा चलिरहेको छ । वडा नम्बर १० अमर खड्का र वडा नम्बर ८ कार्यालय सहायक मोहन रिजालले चलाईरहनुभएको छ ।

 

तर हालसम्म १० नम्बर वडा मात्र हेरिरहेका अमर खड्कालाई देववहादुर चन्दले हेरिरहेका मध्ये १ र २ नम्बर वडाको जिम्मेवारी दिने र खड्काले हेरीरहेको १० नम्बर र ९ नम्बर वडाको जिम्मा चन्दलाई दिने निर्णय भएको गाउँपालिका अध्यक्ष धर्मवहादुर केसीले जानकारी दिनुभयो । 

 

यस्तो भएमा ज्ञानवहादुर खड्काले तीन वडा हेर्ने छन् भने अन्य सचिवले दुई दुई वडाको काम गर्नुहुने छ । त्यस्तै त्रिवेणि गाउँपालिकाका दुई वडा पनि एकै सचिवको भरमा चलेका छन् । वडा नम्बर ७ र ८ मा सचिव देववहादुर केसीले काम गरिरहनुभएको छ । 

 

एउटै सचिवले तीन वटा सम्म वडामा सेवा दिनुपर्ने भएपछि सेवा प्रवाहमा समस्या भैरहेको छ । वडा सचिवबाट हुने पञ्जिकरणको कामका लागि वडा कार्यालय पुग्ने गरेका सेवाग्राहीहरु सचिवलाई सजिलै भेटाउँन नसक्दा रित्तो हात घर फर्किने गरेका छन् । 

 

कर्मचारी नियुक्त गर्ने अधिकार स्थानीय तहलाई नहुँदा एकै सचिवलाई धेरै वडाको जिम्मेवारी दिईएको बाँफिकोट गाउँपालिका अध्यक्ष केसीले बताउनुभयो । साविकको स्थानीय विकास मन्त्रालयले लेखा र प्रशासनमा काम गर्ने कर्मचारी करारमा नियुक्त नगर्न परिपत्र गरेकाले कर्मचारी नियुक्त गर्न नसकिएको उहाँको भनाई छ ।

 

जिल्लाको त्रिवेणि गाउँपालिकाले त झन कुनैपनि कर्मचारी करारमा नियुक्त गरेको छैन् । गाउँ कार्यपालिकाले तत्काललाई कुनैपनि कर्मचारी करारमा नियुक्त नगर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष निर्मला बिष्ट खड्काले बताउनुभयो ।

 

तर जिल्लाका अन्य स्थानीय तहहरुले भने करारमा कर्मचारी नियुक्त गरेर सचिवको पदपुर्ति गरिसकेका छन् । प्रशासन सहायक पदमा कर्मचारी नियुक्त गरी वडा सचिवको जिम्मेवारी दिईएको अन्य स्थानीय तहको भनाई छ ।।