• अहिले तरंगमादलित आवाज
  • केहि छिनमानेपाल परिवेश (थाहा)

ताजा अपडेट :

समाचार

सात महिनामा १४ गर्भवति महिलाको शल्यक्रिया

image not found

सानीभेरी समाचार डेस्क

श्रावण १, रुकुम ।

 

जिल्ला अस्पताल रुकुम(पश्चिम)मा पछिल्लो सात महिनामा १४ गर्भवति महिलाको शल्यक्रिया गरेर शिशुलाई जन्म दिईएको छ । गत पुस महिना देखि हालसम्म सामान्य अवस्थामा सुत्केरी हनु नसक्ने अवस्थाका १४ जना गर्भवति महिलालाई शल्यक्रिया गरेर शिशुलाई जन्म दिईएको हो । 

 

बच्चाले पेटमै दिसा खाएको र बच्चा ठुलो भएर सामान्य रुपमा निस्कन नसक्ने अवस्थामा रहेका महिलाको शल्यक्रिया गर्ने गरिएको निमित्त जिल्ला अस्पताल प्रमुख डा. शुसिल पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अस्पतालमा प्रसुतिका लागि आउँने गरेका कुल महिला मध्ये पाँच प्रतिशतको शल्यक्रिया हुने गरेको छ । 

 

अहिले सम्म अस्पतालमा भएका सबै शल्यक्रिया सफल रहेको उहाँको भनाई छ । ‘अस्पतालमा प्रसुतिका लागि आउँने कुल गर्भवति महिलामा पाँच प्रतिशत महिलाको प्रसुति शल्यक्रिया मार्फत हुने गरेको छ, उहाँले भन्नुभयो–हालसम्म जिल्ला अस्पतालमा भएका सबै सल्यक्रिया सफल भएका छन् ।’ 

 

जिल्ला अस्पतालमा २०७१ साल देखि शल्यक्रिया सेवा सुरु भएकामा विच विचमा यो सेवा रोकिदै संचालन हुँदै आएको थियो । तर गत वर्षको पुस महिना देखि यो सेवा निरन्तर रुपमा संचालन हुँदै आएको छ । यो सेवा नियमित भएपछि सबैभन्दा बढी असार महिनामा ६ जना गर्भवति महिलाको शल्यक्रिया गरिएको छ । 

 

असार महिनामा ४५ जना महिलाहरु सामान्य रुपमा सुत्केरी भएकामा ६ जना महिलाको शल्यक्रिया गरिएको जिल्ला अस्पतालका मेडिकल रेकर्डर (अहेब) इश्वर रावलले बताउनुभयो । 

 

उहाँका अनुसार गत पुसमा ४० वटा नर्मल डेलिभरी भएकामा ३ वटा शल्यक्रिया, माघमा ४० वटा नर्मल र एउटा शल्यक्रिया, फागुनमा ५३ नर्मल र एउटा शल्यक्रिया, चैत्रमा ४४ वटा नर्मल मात्र, वैशाखमा ५१ वटा नर्मल र २ वटा शल्यक्रिया तथा जेठमा ५६ वटा नर्मल र एउटा शल्यक्रिया मार्फत शिशुलाई जन्म दिईएको छ ।।