• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

पछिल्ला चार महिनामा ३५ वटा बालबिवाह रोकिए

सानीभेरी समाचार डेस्क १४ असार । 

रुकुम(पश्चिम)मा बालविवाह रोकिने क्रम ह्वात्तै बढेको छ । पछिल्ला तीन÷चार महिनादेखि जिल्लामा २० वर्ष नपुगि भएका, हुदै गरेका तथा हुन लागेका करिब ३५ वटा विवाह रोकिएका छन् । 

 

सबैभन्दा बढी सानीभेरी गाउँपालिकामा बाल विवाह रोकिएका छन् । उक्त गाउँपालिकामा मंगलबार मात्र दुई वटा बालविवाह रोकिएका छन् । सानीभेरी गाउँपालिका तीनकी १८ वर्षिया किशोरी र सिन्धुपाल्चोकका २८ वर्षिय युवक विच हुन लागेको विवाह सिम्ली प्रहरीले रोकेको छ । 

 

त्यस्तै सानीभेरी गाउँपालिका नौं की १५ वर्षिया बालिका र मुसीकोट नगरपालिका तीनका १५ वर्षिय बालकविच हुन लागेको विवाह पनि प्रहरीले रोकेको छ । बालविवाह हुन लागेको सूचनाका आधारमा प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएर सभ्झाई बुझाई गरी आफन्तको जिम्मा लगाएको छ । 

 

सिम्ली प्रहरी चौकीले गाउँपालिका, रुकुमेली समाज विकास केन्द्र र बालक्लव तथा सञ्जालको रोहबरमा छलफल गराई बालविवाह गर्न लागेकाहरुलाई आ–आफ्ना आफन्तको जिम्मा लगाइएको रुकुमेली समाज विकास केन्द्रका बाल संरक्षण अधिकृत रामप्रसाद केसीले जानकारी दिनुभयो ।

 

बालविवाह बढेपछि यस विरुद्धको अभियान सुरु भएको र यसमा प्रहरी प्रशासनको तर्फबाट सक्दो सहयोग गरिरहेको प्रहरी चौकी सिम्लीका इन्चार्ज गगनसिंह ठकुरीले बताउनुभयो । 

 

यसैबिच चौरजहारी नगरपालिकामा १ महिनामा ९ वटा बाल विवाह  रोकिएका छन् । बैशाख १२ गते नगर बाल सञ्जाल गठन भएर बाल विवाह अन्त्य गर्ने अभियान सुरु गरेसँगै १ महिनामा ९ बाल विवाह हुनबाट रोकिएका हुन् । 

 

वडा न. ५ मा १, १० मा २, ११ मा १, १२ मा १, १३ मा २ र १४ न. वडामा २ गरि ९ वटा विवाह बाल सञ्जाल, बाल क्लव, स्थानीय प्रशासन र स्थानीय बुद्धिजीवीको पहलमा रोकिएका नगर बाल सञ्जालका अध्यक्ष जनक आचार्यले जानकारी दिनुभयो ।

 

उहाँले बाल विवाह रोक्न थालेसँगै अब उमेर नपुगि विवाह गर्नुहुन्न भन्ने चेतना बढेको बताउनुभयो । हामी बाल सञ्जालमा जोडिएसँगै बाल विवाह अन्त्य गर्ने अभियानमा लागेका छौँ, अन्य निकायको सहयोग चाहान्छौँ उहाँले भन्नुभयो बाल विवाह बन्द गर्ने अभियान सँगै अन्य बाल अधिकारका मुद्दा उठाउने छौँ । 

 

त्यस्तै नगर उपप्रमुख राधा रोकाले आफ्नो पालामा बाल विवाह मुक्त नगर घोषणा गर्ने बताउनुभएको छ । बालबालिकाको क्षेत्रमा नगर परिषदबाट आवश्यक बजेट छुट्याएको र त्यहि अनुसार कार्यक्रम अघि बढाउने उहाँको भनाई छ । 

 

उप प्रमुख रोकाले बाल विवाह गरिसकेपछि रोक्ने भन्दा हामी विवाह गर्नै नदिने तर्फ ध्यान दिने बताउनुभयो । बाल विवाह गरि सकेकोलाई पुनः समाजमा स्थापना गर्न गाह्रो हुने भएकोले उमेर पुगेपछि उहीँ सँग विवाह गर्ने गरेर सम्झाइ बुझाई आ आफ्नो अबिभाबकको जिम्मा लगाएको उहाँको भनाइ छ ।