• अहिले तरंगमाजस्ट रिक्वेयस्ट (थाहा)
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

सडक अतिक्रमण गरी बनाईएका संरचना हटाईयो

सानीभेरी समाचार डेस्क १२ असार ।

रुकुम(पश्चिम)को आठबीसकोट नगरपालिकाले राडि बजारमा सडक अतिक्रमण गरी बनाईएका घर, टहरा हटाएको छ । बजार विचमा रहेको सडकलाई वरीपरीबाट चेपेर बनाईएका ५० बढी घर, टहरा नगरपालिकाले हटाएको हो । 

 

बजारको दिगो व्यवस्थापनका लागि सडक अतिक्रमण गरेर बनाईएका संरचनाहरु हटाईएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामवहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ३१ वटा घर भत्काईएको छ । अन्य भने टहरा रहेको केसीले बताउनुभयो । 

सडकको विच भागलाई केन्द्रविन्दु मानि त्यसको दाया, बाँया तीन÷तीन मिटर चौडा गर्दा सडकले छोएका संरचनाहरु भत्काईएको हो । अधिकांश संरचना बजारवासीहरुले नै हटाएका हुन भने केहि संरचना नगरपालिकाले हटाउन परेको थियो । 

 

नगरपालिकाले सडक अतिक्रमण गरी बनाईएका संरचना हटाउँन स्थानीयले सहयोग गरेको बताएको छ । ‘हामिले सडकको भुभाग पहिचान गरेर उक्त भुभागमा बनाईएका संरचना हटाउँन भनेका थियौं, प्रमुख प्रशासकिय अधिकृत केसीले भन्नुभयो–अधिकांशले समयमै घर टहरा हटाउनु भयो भने केहि भने नगरपालिकाले नै हटाउन पर्यो ।’ 

 

बजार भित्रको साढे ६ सय मिटर लम्बाई रहेको सडकलाई मापदण्ड अनुसार चौडा गरिएको नगरपालिकाको भनाई छ । छरपस्ट रुपमा घर तथा अन्य भौतिक संरचना निर्माण गरिदा बजारको सुन्दरतामै कुरुपता आउँन थालेको थियो । भने बिच बजारबाट सवारीका साधन तथा मानिसहरुलाई आवत जावत गर्न समस्या हुन सुरु भैसकेको थियो । 

 

नगरपालिकाको केन्द्र तथा रुकुम, जाजरकोट र डोल्पा सम्मको मुख्य व्यापारिक केन्द्र भएकाले राडिमा पछिल्लो समयमा जन घनत्व बढिरहेको छ । त्यस्तै बजारभित्रको सडक फराकिलो पारेसंगै नगरपालिकाले यसको स्तरबृद्धिको काम सुरु गरेको छ । चालु आर्थिक वर्षमा सक्ने गरी सडकको दाँया, बाँया नाला निर्माणको काम भैरहेको छ ।

 

नगरपालिकाको ५७ लाख र अन्य जनश्रमदान गरी ७७ लाखमा ढल निकासका लागि नाला निर्माणको काम भैरहेको प्रमुख प्रशासकिय अधिकृत केसीले जानकारी दिनुभयो । यो वर्ष सडक चौडा गरिनुका साथै नाला निर्माण गर्ने र अर्को आर्थिक वर्षमा सडक कालोपत्रे हुने बताईएको छ ।