• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

गोलखाडावासी भन्छन मुखमै आएको भाग नखोसियोस

image not found

मनिष खड्का 

बैशाख, ३० ।

 

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले गत माघ ११ गते नयाँ बनेको जिल्ला रुकुम(पूर्व)को सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका १२ को गोलखाडामा तोक्दा यहाँका नागरिकहरुलाई सपना जस्तो लागेको थियो । कहिले पनि चर्चामा नरहेको ठाउँमा सदरमुकाम तोकियो भन्ने खवर एक्कासि सुन्दा आफुहरु अचम्ममा परेको गोलखाडावासीको भनाई छ । सदरमुकाम आफ्नै ठाउँमा आउँने भयो भन्ने थाहा पाएपछि हर्ष बढाई गरेका गोलखाडावासी अहिले भने चिन्तित छन् । सिस्ने गाउँपालिकाको रुकुमकोटमा रहेको सदरमुकाम गोलखाडामा सार्ने सरकारको निर्णय खारेजको माग गर्दै सर्वोच्च अदालतमा मुद्धा परेपछि मुखमै आएको भाग खोसिने त होईन भनेर गोलखाडावासी चिन्तित भएका हुन् । ‘गोलखाडामा सदरमुकाम तोकियो भनेर सुन्दा सुरुमा त हामिलाई विश्वासै लागेको थिएन, गोलखाडाका अमर पुनले भन्नुभयो–सरकारको यस निर्णयबाट हामि धेरै खुशि छौं, तर अदालतमा मुद्दा परेकाले मुखैमा आएको भाग खोसिन्छ कि भन्ने डर छ ।’ सरकारको यस निर्णयलाई आफुहरुले सदिऔं देखि उत्पिडनमा परेको भुगोल र समुदायको पक्षमा लिएको उनको भनाई छ । यो भुभाग रुकुम(पूर्व)को विच भागमा पर्ने भएकाले यहाँ सदरमुकाम भए सेवा प्रवाह गर्न सहज हुने उहाँको भनाई छ ।    

 

सदरमुकाम आए घर खाली गर्छौं

सदरमुकाम बन्नका लागि गोलखाडामा भौतिक संरचनाको अभाव नरहेको यहाँका नागरिकहरुको दाबी छ । विकट छ, सदरमुकाम बन्नका लागि भौतिक संरचनाको अभाव छ भनेर गोलखाडामा सदरमुकाम आउँन नदिने षड्न्यत्र भैरहेको स्थानीय मणिकर्ण बुढाले बताउनुभयो । भौतिक संरचना त सदरमुकाम आएपछि स्वत निर्माण हुने उहाँको भनाई छ । ‘२०३० सालमा रुकुमकोटबाट मुसीकोटमा सदरमुकाम लैजादा मुसीकोटमा २, ४ वटा घर त थिए, उहाँले भन्नुभयो–अहिले देख्नुभएको छ मुसीकोटमा कसरी विकास भएको छ ।’ भौतिक संरचना निर्माण तथा अन्य विकास त आवश्यकताका आधारमा हुँदै जाने उहाँको भनाई छ । सरकारी अड्डा व्यवस्थापनको सामथ्र्य आफुहरुसंग रहेको उहाँको दाबी छ । ‘सदरमुकाम आयो भने सरकारी अड्डा घर नपाएर अलपत्र पर्ने अवस्था आउँदैन उहाँले थप्नुभयो–सदरमुकाम आओस त्यसका लागि कति घर आवश्यक पर्छ हामि सबै खाली गर्छौ ।’  

 

रुकुमकोट भन्दा मुसीकोट जान्छौ 

हाल सदरमुकाम रहेको रुकुमकोट जिल्लाको छेउमा पर्ने भएकाले उक्त ठाउँ सदरमुकामका लागि उपयुक्त नरहेको यहाँका नागरिकको भनाई छ । यसै कुरालाई ध्यानमा राखेर अघिल्लो सरकारले गरेको निर्णय यथाशिर्घ कार्यान्वयन हुनुपर्ने उनिहरुको माग छ । गोलखाडामा सदरमुकाम नभए आफुहरु मुसीकोटमै जाने स्थानीय रामलिला बुढाले बताउनुभयो । रुकुमकोट जानु र मुसीकोट जानुमा खासै समस्या नभएकाले आफुहरु रुकुमकोट भन्दा बरु मुसीकोटमै जाने उहाँको भनाई छ । ‘जसरी पनि सरकारको निर्णय कार्यान्वयन हुनुपर्छ, हामिलाई लागेको छ अदालतले पनि हाम्रै पक्षमा निर्णय गर्ने छ, उहाँले भन्नुभयो–यदि गोलखाडामा सदरमुकाम भएन भने हामि रुकुमकोट जादैनौं ।’

 

भौतिक संरचना मात्रै ठुलो होईन 

गोलखाडामा सदरमुकाम तोकिएपछि यस क्षेत्रका नागरिकहरुमा नयाँ उत्साह थपिएको छ । सदिऔं देखि पिछडिएको क्षेत्रमा सरकारले सदरमुकाम तोकेकाले यहाँ नै सदरमुकाम कायम हुनुपर्ने गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले बताउनुभयो । रुकुमकोट जानु र मुसीकोट जानुमा खासै फरक नभएको उहाँको भनाई छ । सबै जिल्लावासीलाई पायक पर्ने ठाउँ गोलखाडा नै भएको उहाँको दाबी छ । यहाँको विकासका लागि पनि गोलगाडामा सदरमुकाम बन्नुपर्ने उहाँले बताउनुभयो । सदिऔं देखि दुर्गम र विकटमा रहेको ठाउँमा सदरमुकाम राखियो भने विकासले तिव्रता लिने उहाँको विश्वास छ । ‘अहिले मान्छेहरु गोलगाडामा विकास भएको छैन् त्यहाँ सदरमुकाम राख्न कसरी सम्भव छ भनेर खिस्सि गरिरहेका छन्, उहाँले भन्नुभयो–सदरमुकाम हुनका लागि विकास ठुलो कुरा होईन, बरु विकासका लागि पो सदरमुकाम राख्ने हो त ।’ 

 

रुकुम(पूर्व)को सदरमुकाम विवाद सर्वोच्चमा विचाराधिन अवस्थामा छ । गत असोज १९ गते रुकुमकोटमा जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय लगाएतका सरकारी कार्यालयहरु उद्घाटन गरिएको थियो । तर गत माघ ११ गतेको मन्त्रिपरिषद् बैठकले सदरमुकाम गोलखाडालाई तोकेको थियो । त्यसपछि यो निर्णयको कार्यान्वयनका लागि रुकुमकोटमा आन्दोलन जारी छ भने सर्वोच्चमा मुद्दा परेको छ । उक्त मुद्दाको पेसि निरन्तर सरिरहेको छ । सदरमुकाम विवाद लम्बिदै जादा कतै मुखैमा आएको भाग खोसिने त होईन भन्ने चिन्ता गोलखाडावासीमा छ ।