• अहिले तरंगमाराष्ट्रिय गीतहरु
  • केहि छिनमाजीवन दर्शन

समाचार

एमाले र माओवादी पार्टी एकताका लागि रुकुम पश्चिममा पार्टी एकता संयोजन समिति गठन

image not found

सानीभेरी समाचार डेस्क

रुकुम १०, कार्तिक 

 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का विचमा पार्टी एकता गरी एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने निर्णय अनुसार रुकुम पश्चिममा पार्टी एकता संयोजन समिति गठन भएको छ । बाम गठबन्धन बनाई प्रतिनिधि र प्रदेशसभा सदस्य चुनाव लड्ने तथा चुनावपछि एउटै कम्युनिष्ट पार्टी गठन गर्ने गरी केन्द्रमा निर्णय भए अनुसार जिल्लामा आज एकता संयोजन समिति गठन भएको हो । शुक्रबार मुसीकोटमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी पार्टी एकता संयोजन समिति गठन गरिएका बारेमा जानकारी गराईएको हो । पार्टी एकता संयोजन समितिमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का जिल्ला स्तरीय शीर्ष नेताहरु रहेका छन् । नेकपा (माओवादी केन्द्र)को तर्फबाट जिल्ला इन्चार्ज राजकुमार शर्मा (आर्ट), बसन्त शर्मा (कुशल), महेन्द्र के.सी. (पारसमणी) र बुद्धिप्रसाद शर्मा (अनन्त) हनुभएको छ भने नेकपा (एमाले)को तर्फबाट जिल्ला इचार्ज शेरबहादुर के.सी., विमलकुमार पुन र ठगेन्द्रप्रकाश पुरी रहनु भएको छ । 

 

पार्टी एकता संयोजन समितिले जिल्लाका सम्पुर्ण नगरपालिका, गाउँपालिका, वडापालिका, मोर्चा र जनबर्गिय संगठनहरुबीच तत्काल एकता संयोजन समिति गठन गर्न निर्देशन जारी गरेको छ । त्यस्तै जिल्ला तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, नगरपालिका, गाउँपालिका र वडापालिका स्तरमा निर्वाचन परिचालन कमिटिहरु गठन गर्ने निर्णय समेत भएको पार्टी एकता संयोजन समितिले जनाएको छ । साथै समितिले मंसिर १० गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई सफल बनाई दुबै पार्टीका साझा उम्मेदवारहरु प्रतिनिधि सभा सदस्यका जनार्दन शर्मा (प्रभारक) र प्रदेश सभा सदस्य तर्फ निर्वाचन क्षेत्र नम्वर १ का रातो कामी तथा निर्वाचन क्षेत्र नम्वर २ का गोपाल शर्मा (अनल) र समानुपातिक तर्फका आ–आफ्ना उम्मेदवारलाइ विजयी बनाउन सक्रिय ढंगले लाग्ने निर्णय गरेको संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । 

 

बैज्ञानिक समाजवाद निर्माण गर्न लोकतन्त्रलाई व्यवहारीक रुपमा कार्यान्वयन गर्दै राष्ट्रियतालाई अक्षुण राखी देशको आर्थिक समृद्धि र सामाजिक न्यायको बाटोमा तीब्र गतिका साथ अघि बढ्न यो एकताले अदभुत शक्ति सृजना गरेको पार्टी एकता संयोजन समितिका प्रमुख नेता राजकुमार शर्माले बताउनुभयो । अव नेपालमा शसक्त कम्युनिष्ट पार्टी बन्न लागेको र ६८ वर्षअघि जुन उदे्श्यले नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको हो त्यसको उद्ेश्य पुरा हुने दाबी गर्नुभयो । पार्टी एकता नहोस भनेर अहिले दक्षिणपंथी एवं प्रतिक्रियावादी शक्तिहरु बाम गठबन्धनको बिरुद्धमा लागिरहेकाले कसैको उक्साहटमा नलाग्न उनले पार्टी कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । 

 

त्यस्तै संकीर्ण राजनीतिक स्वार्थका निम्ति प्रतिक्रियावादी कित्ताबाट सृजना गरिएको कम्युनिष्ट तानाशाहीको प्रायोजित प्रचारलाई विफल पार्दै रुकुमेली जनताको भविस्यलाई सुरक्षित र सुनिश्चित ढंगले अघि बढाउन आफुहरु विजयको महान बाटोमा लामबद्ध भएको पार्टी एकता संयोजन समितिका अर्का प्रमुख नेता शेरवहादुर केसीले बताउनुभयो । उहाँले पनि बाम गठबन्धनका बिरुद्धमा ठुलो शक्ति लागिपरेको भन्दै यसबाट बच्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘रुकुम सन्दर्भमा त झन हामी एमालेहरुलाई उचाल्ने ठुलै शक्ति लागिपरेको छ उनले भन्नुभयो–कसैले एमालेले माओवादीका सामु घुँडा टेक्यो बन्छ, कसैले रुकुममा एमाले सकियो भन्छ, यी हल्लाका पछाडि नलाग्नुहोस जुन पार्टीका नेताले टिकट पाएपनि ति बाम गठबन्धनका साझा नेता हुन् ।’ 

 

नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य बुद्धिप्रसाद शर्माको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन नेकपा एमालेका ६ नं. प्रदेश सदस्य ठगेन्द्रप्रकास पुरीले गर्नुभएको थियो । पत्रकार सम्मेलनमा दुवै पार्टीका शिर्ष नेताहरुको उपस्थिति रहेको थियो ।