• अहिले तरंगमाबि.बि.सी. साझासवाल
  • केहि छिनमाआधुनिक गित

समाचार

सिस्ने गाउँपालीकाकाे बजेट झण्डै साढे २७ कराेड

image not found

सानीभेरी समाचार डेस्क ।

दोस्रो चरणमा असार १४ गते स्थानीय तहको निर्वाचन भएको रुकुमको सस्ने गाउँपालिकाले चालु आर्थिक बर्षको लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । गाउँपालीकाले २७ करोड २७ लाख २९ हजार ४ सय ६० रुपैंयाको बजेट ल्याएको हो । मंगलबार र बुधबार गरी २ दिन चलेको प्रथम गाउँसभाले आर्थिक बर्ष २०७४/०७५ का लागि उक्त बजेट र नीति तथा कार्यक्रम पारित गरेको छ । कुल बजेटमध्ये चालुतर्फ शसर्त सहित १३ करोड १९ लाख १९ हजार र पुजिगततर्फ १४ करोड ८ लाख १० हजार ४ सय ६० रुपैया“ विनियोजन गरिएको छ । 

 

पुँजिगत तर्फबाट आर्थिक विकासमा ३ करोड ३ लाख ५० हजार, सामाजिक विकासमा ४ करोड ६२ लाख ५६ हजार, पूर्वाधार विकासमा ३ करोड, वातावरण तथा विपद् व्यवस्थापनमा १७ लाख ३६ हजार २ सय ६० रुपैयाँ विनियोजन गरिएको छ । नेपाल सरकारबाट प्राप्त वित्तिय समानिकरण तर्फ प्राप्त १६ करोड ७९ लाख ८२ हजार र सशर्त तर्फ ७ करोड ६९ लाख १९ हजार गरी २४ करोड ४९ लाख १ हजार, जनसहभागिताबाट १ करोड ५९ लाख ६१ हजार २ सय, गत आर्थिक बर्षको मौज्दात ७३ लाख ६७ हजार २ सय ६० र आन्तरिक राजश्वतर्फबाट ४५ लाख गरी उक्त बजेट तयार पारिएको हो । 

 

एक घर एक धारा, स्वाच्छ खानेपानीको पहुँचमा सिस्नेबासी सारा

प्रथम गाउ“ सभाले स्वच्छ खानेपानीलाई पुमुख प्राथमिकता दिएको छ । ‘एक घर एक धारा, स्वच्छ खानेपानीको पहुँचमा सिस्नेबासी सारा’ भन्ने नारा तय गर्दै गाउँसभाले सबैको घर घरमा खानेपानी धारा पुर्याउने योजनालाई प्राथमिकताका साथ पास गरेको हो । यस योजनाको सुरुवात गाउँपालीकाको केन्द्र रहेको सिस्ने ५ र ६ बाट गर्ने योजना बनेको गाउँपालीकाका प्रवक्ता जीवन केसीले जानकारी दिए ।  

 

सडकपनि प्राथमिकतामा 

गाउँसभाले सडक निर्माणलाई पनि प्राथमिकतामा पारेको छ । उक्त गाउँपालीकाका साविकका प्वाङ र सिस्ने गाविसमा अझै सडक पुग्न सकेको छैन भने अन्य गाविसका केही ठाउँ समेत अहिले सम्म सडक बिहिन अवस्थामा छन् । सडकको पहु“च नभएका ठाउँमा ट्रयाक खोल्ने तथा ट्रयाक खोली सकेका सडकको स्तरोन्नती गर्ने लक्ष गाउँसभाले लिएको छ । ५ बर्ष सम्म सबै वडामा सडक पु्र्याउने तथा चलिरहेको सडकलाई बाह्रै महिना सञ्चालन गर्न स्तर वृद्धि गर्ने नीति तयार पारिएको प्रवक्ता केसीले बताए । 

 

कृषि र पशुपालनमा व्यवशायिकता विकास गरिने

गाउँसभाले आर्थिक समृद्धिको आधारका रुपमा कृषि र पशुपालनलाई लिएको छ । कृषि तथा पशुपालनका माध्यमबाट आर्थिक समृद्धि सम्भव रहेको निष्कर्ष निकाल्दै कृषि र पशुपालनको योजनालाई प्राथमिकतामा पार्ने गाउँसभाले निर्णय गर्दै पारित गरेको छ । कृषिको विविधिकरण, व्यवसायीकरण, आधुनिकिकरण र बजारीकरणलाई जोड दिँदै सामूहिक पशुपालन विकास गरी कृषि तथा पशुपालन मार्फत गाउ“पालिका समृद्ध बनाइने उल्लेख गरिएको छ । 

 

सिफारिस शुल्कमा छुट

शिक्षालाई गुणस्तरीय बनाउने तथा सञ्चारको पहुँच नपुगेको ठाउ“मा टेलिफोन टावर निर्माणमा पहल गर्ने नीति पनि गाउँपालीकाले लिएको छ । यसका साथै सहिद, घाइते र वेपत्ताका परिवारलाई गाउँपालिकाबाट दिईने कुनै पनि सिफारिसको सम्पूर्ण शुल्क मिनाहा गर्ने नीति पनि गाउँसभाबाट पारीत गरिएको छ ।