• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमासाथि सँग मनका कुरा

ताजा अपडेट :

समाचार

रुकुममा प्रहरीले रोक्यो बालविवाह

image not found

सानीभेरी समाचार डेस्क

रुकुममा प्रहरीले बालविवाह रोकेको छ । जिल्लाको गोतामकोट ४ रिंकाका २१ वर्षिय युवक र सोही गाविस वडा नम्बर ८ की १४ वर्षिय बालिकाको विवाह प्रहरीले रोकेको हो । बालविवाह हुन लागेको खवर जिल्ला वालकल्याण समितिमा आएपछि समितिले प्रहरीलाई खवर गरेको थियो । उनिहरुले प्रेम पछि विवाह गरेको र त्यसलाई परिवारजनले सामाजिक मान्यता दिएपछि उनिहरुको परम्परा अनुसार विवाह हुन लागेको थियो । गाउँमा बालविवाह हुन लागेको गोप्य सूचना आएपछि उक्त विवाह रोक्न जिल्ला प्रहरी कार्यालयमा अनुरोध गरिएको जिल्ला बाल अधिकार अधिकृत मानविर ओलीले बताउनुभयो । 

 

बालविवाह हुन लागेको खवर पछि जिल्ला प्रहरी कार्यालयले प्रहरी खटाएको थियो । जिल्लाको निर्देशन पछि गोतामकोट प्रहरी चौकीले घटना स्थलमा पुगी दुवै पक्षलाई सम्झाई बुझाई बिवाह रोकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरिक्षक थम्मनवहादुर रजालीले जानकारी दिनुभयो । आफन्तको जोरजवरजस्तीमा नभई केटा, केटीले आफुखुशी बिवाह गर्न लागेकाले कसैलाई कारवाही गर्नुपर्ने नदेखिएको प्रहरीले जनाएको छ । केटा, केटी दुवैलाई आफन्तको जिम्मा लगाईएको छ । रुकुम बालविवाहका हिशावले संवेदनशिल जिल्लामा प्रर्दछ । 

 

२०६८ सालमा लिईएको तथ्यांक अनुसार जिल्लामा हुने कुल विवाह मध्ये आधा भन्दा बढी अर्थात झण्डै ५७ प्रतिशत बालविवाह हुने गरेको तथ्यांक जिल्ला बालकल्याण समिति संग छ । तर त्यसपछि भने जिल्लामा बालविवाह बढेको वा घटेको कुनै तथ्यांक निकालिएको छैन् । जिल्लामा सबैभन्दा बढी बालविवाह हुने मध्येमा गोतामकोट पनि एक रहेको बाल अधिकार अधिकृत ओलीले जानकारी दिनुभयो । जिल्ला बालकल्याण समितिले गतवर्ष लिएको तथ्यांक अनुसार उक्त गाविसमा ७२ प्रतिशत बालविवाह हुने गरेको छ । 

 

बाल अधिकार अधिकृत ओलीले दिएको जानकारी अनुसार अशिक्षा, गरिबि र रुढिवादी परम्पराका कारण गोतामकोटमा बालविवाहको अवस्था डरलाग्दो रुपमा बढेको हो ।।