• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

दोस्रो जिविस कप महिला भलिबलको उपाधी जाङलाई

image not found

सानीभेरी समाचार डेस्क

रुकुम ४ फागुन 

 

रुकुममा संचालित दोस्रो जिविस कप महिला भलिबलको उपाधी जाङ गाविसले जितेको छ । बुधबार भएको फाईनलमा रुकुमकोटलाई ३–० को सेटमा पराजित गर्दै जाङले उपाधी जितेको हो । खलंगाको बह्राटाकुरा टुँडिखेलमा भएको फाईनल खेलको पहिलो सेट जाङले २५–१२, दोस्रो सेट २५–२३  तेस्रो सेट २५–१३ ले जित्दै उपाधी जित्यो ।   

 

जाङ सेमिफाईनलमा पुर्तिमकाँडालाई र रुकुमकोट मोरावाङलाई पराजित गर्दै प्रतियोगीताको फाईनलमा प्रवेश गरेका थिए । प्रतियोगीताको विजेता जाङले कप, मेडल र प्रमाण पत्र सहित नगद ३५ हजार नगद प्राप्त गरेको छ । त्यस्तै उपविजेता रुकुमकोटले कप, मेडल र प्रमाणपत्र सहित २० हजार नगद हात पारेको छ । 

 

सेमिफाईनलबाट बाहिरिएका पुर्तिमकाँडा र मोरावाङलाई मेडल र प्रमाण पत्र सहित १०÷१० हजार नगद प्रदान गरिएको आयोजक समृद्ध समाज नेपालका अध्यक्ष सुवोधराज शिर्पालीले जानकारी दिनुभयो । जिल्ला विकास समितिको मुख्य प्रायोजनामा जिल्लाको महिला भलिबल विकासका लागि भन्दै समृद्ध समाज नेपाल रुकुमले प्रतियोगीताको आयोजना गरेको हो । 

 

प्रतियोगीताको सह प्रयोजकमा मौला कालिका कन्ट्रक्शन प्रालि वेदगाउँ नवलपरासी रहेको छ भने सहयोगीमा राप्ती ट्रेडर्स एण्ड सप्लायर्स (महिन्द्रा अर्जुन ट्याक्टर) रहेको आयोजकले बताएको छ । फागुन २ गतेबाट सुरु भएको प्रतियोगीतामा जिल्लाका १२ ओटा गाविसका महिला भलिबल समुहले प्रतिस्पर्धा गरेका थिए ।

 

आज एक कार्यक्रमको आयोजना गरी प्रतियोगीताको समापन गरिएको छ । समृद्ध समाज नेपालका अध्यक्ष सुवोधराज शिर्पालिको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय विकास अधिकारी नरेन्द्रकुमार रानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हेमराज पुनको विशेष आतिथ्यता रहेको थियो । 

 

त्यस्तै कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य पहलसिंह घर्ती मगर, जिल्ला विकास समितिका योजना अनुगमण तथा प्रशासकिय अधिकृत नारायणप्रसाद चापागाई, निमित्त प्रहरी प्रमुख थम्मनवहादुर रजाली लगाएतको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन समृद्ध समाजका सदस्य जीवन केसीले गर्नुभएको थियो ।