• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

हत्याका फरार अभियुक्त ३६ वर्षपछि जेल चलान

मनिष खड्का/रेडियो सानीभेरी 

रुकुम ३, माघ 

 

जिल्ला अदालत रुकुमले हत्याका फरार एक अभियुक्तलाई ३६ वर्षपछि जेल चलान गरेको छ । जिल्लाको चुनवाङ ४ भेडिडाँडामा २०३७ साल कार्तिक ३ गते भएको ४ जनाको सामुहिक हत्या काण्डका सह अभियुक्त रुँघा ६ का धनवहादुर खत्रीलाई अदालतले ३६ वर्षपछि जेल चलान गरेको हो । घटनाका मुख्य अभियुक्त रुघाँ ६ कै मनवहादुर खत्री भने अझै वेपत्ता छन् । उनको मृत्यु भैसकेको आशंका गरिएको छ । उनिहरुले एकै परिवारका ४ जनाको हत्या गरेका थिए भने ३ जनालाई घाईते बनाएका थिए । तुलसी खड्का, सर्केनी खड्का, प्रतिमान खड्का र तृथाकुमारी खड्काको हत्या भएको थियो भने उक्त परिवारकै नन्दकुमारी खड्का, भुपवहादुर खड्का र विर्सु खड्का घाईते हुनुभएको थियो । 

 

घटनामा दोषि पाईएपछि जिल्ला अदालत रुकुमले २०४० साल जेठ ३ गते मनवहादुरलाई सर्वश्व सहित जन्मकैद र धनवहादुरलाई ५ वर्षको जेल सजाय सुनाएको थियो । तर घटनाको फैसला हुनुअघि नै क्षेत्रिय अदालतले २०३८ साल साउन १९ मा दुवैलाई तारेखमा छाडेर घटनाको अनुसन्धान गर्न आदेश दिएको थियो । त्यसपछि घटनाका अभियुक्त दुवैजना फरार भएका थिए । क्षेत्रिय अदालतले अभियुक्त दुवैलाई तारेखमा छाडेर अनुसन्धान गर्न आदेश दिएको २ वर्षपछि जिल्ला अदालतले फैसला सुनाएको थियो । त्यस्तै उक्त फैसलालाई सदर गर्दै सर्वोच्च अतालतले २०४२ साल असार ३१ मा अभियुक्तलाई पक्राउ गरी जेल चलान गर्न आदेश दिएको थियो । फरार अभियुक्त धनवहादुर भागेर भारतमा वसेको र अहिले घर आएको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला अदालतका श्रेस्तेदार तेजप्रसाद पौडेलले जानकारी दिनुभयो ।  

 

४ वर्ष ६ महिनाका लागि जेल चलान 

धनवहादुरले यसअघिनै ६ महिना सजाय भुक्तान गरिसकेकाले उनले अव ४ वर्ष ६ महिना जेल भुक्तान गर्नुपर्ने जिल्ला अदालतका श्रेस्तेदार पौडेलले जानकारी दिनुभयो । अनुसन्धानकै क्रममा उनले ६ महिना जति सजाय भुक्तान गरिसकेकाले अव उनले उक्त सजाय कटाएर बाँकी सजाय भुक्तान गर्नुपर्ने पौडेलले बताउनुभयो ।      

 

यसरी भएको थियो घटना 

रुघाँ ६ का मनवहादुर खत्री (घटनाका मुख्य अभियुक्त) की श्रीमति चुनवाङ ६ भेडिडाँडाका हत्या भएका खड्का परिवारका एक सदस्यले भगाएको झोकमा मनवहादुर र धनवहादुरले उक्त परिवारमा हमला गरेको श्रेस्तेदार पौडेल बताउँछन् । श्रीमान, श्रीमति भने माईति घर गएका कारण बचेका थिए । जसका लागि गएको हो उनिहरु नभेटिएपछि मनवहादुर र धनवहादुरले आक्रोसमा उनको परिवारमा हमला गरेको पुरानो मिसिलबाट खुलेको श्रेस्तेदार पौडेलको भनाई छ । अहिले जिल्ला अदालतले फैसला कार्यान्वयन अभियान चलाईरहेको छ । उक्त अभियान अन्तरगत फैसला भएका तर कार्यान्वयन हुन बाँकी मुद्धालाई प्राथमिकतामा राखिएको पौडेलले बताउनुभयो ।