• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमासाथि सँग मनका कुरा

ताजा अपडेट :

समाचार

गाउँपालिकाको केन्द्र माग गर्दै जारी आन्दोलन उग्र, ६ घण्टा थुनिए जिविसका कर्मचारी

image not found

सानीभेरी समाचार डेस्क 

 

प्रस्तावित पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरामा हुनुपर्ने माग गर्दै जिल्लाको तकसेरावासीले थालेको आन्दोलन उग्र बन्दै गएको छ । ज्ञापन पत्र बुझाउने र ध्यानाकर्षण गराउनेबाट सुरु भएको आन्दोलन जिल्ला बन्द र जिल्ला विकास समितिमा तालावन्दी गर्ने सम्म पुगेको छ । स्थानिय तह पुनर्संचना प्राविधिक सहयोग समिति, जिल्लाका राजनितिक दल सहित स्थानिय तह पुनर्संचनाका लागि बनेको आयोग र सरकारलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि शसक्त रुपमा प्रस्तुत हुन बाध्य भएको तकसेरा गाविस सरोकार समितिले जनाएको छ । आफुहरुलाई वेवास्ता गरिए त्यो राज्यका लागि घातक हुने समितिका संयोजक जुद्ध बुढामगरले चेतावनी दिए । आयोगको कार्यविधिमा तोकिएको मापदण्ड अनुसार तकसेरा गाउँपालिकाको केन्द्र बन्न लायक भएपनि गाउँपालिकाको केन्द्र अन्यत्रै तोकेर राज्यले आफुहरुलाई उपेक्षा गरेको उनिहरुको गुनासो छ । गाउँपालिकाको केन्द्र माग्दै गाविसका प्रत्येक घरबाट एक, एक जनाका दरले १ हजार बढी गाविसवासी सदरमुकाम पुगेको सरोकार समितिले जनाएको छ ।

 

जिविसमा तालाबन्दी, ६ घण्टा थुनिए कर्मचारी 

गाउँपालिकाको केन्द्र माग्दै तकसेरावासीले जिल्ला विकास समितिमा तालावन्दी गरेका छन् । नारावाजी गर्दै बुधबार जिल्ला विकास समितिमा प्रवेश गरेका तकसेरावासीले जिल्ला विकास समितिका कर्मचारीलाई भित्र थुनेर कार्यालयको एकमात्र प्रवेशद्धारको गेटमा तालाबन्दी गरेका हुन् । जसका कारण कार्यालय भित्र रहेका कर्मचारी बाहिर निस्कन पाएका थिएनन् भने कार्यालय बाहिर रहेका कर्मचारी पनि कार्यालयमा प्रवेश गर्न पानन् । गाविसवासीले बिहान पौने १० बजेदेखि जिल्ला विकास समितिलाई नियन्त्रणमा लिएका हुन् । जिविसमा भएको तालावन्दीका कारण जिविसका कर्मचारीहरु ६ घण्टा सम्म कार्यालयमै थुनिएका थिए । गाविसवासीले अपरान्ह ४ बजे केही समयका लागि ताला खोल्दै कार्यालय भित्र रहेका कर्मचारीहरुलाई बाहिर निस्कन दिएका थिए । त्यस्तै उनिहरुले जिल्ला विकास समितिमा प्रवेश गर्ने बाहिरी गेटमा समेत तालावन्दी गरेका थिए । उनिहरुले दिनभर जिल्ला विकास समितिमा कसैलाई प्रवेश गर्न दिएनन् । कार्यालयमा लागेको ताला भने जारी रहने तकसेरा सरोकार समितिका संयोजक जुद्ध बुढामगरले जानकारी दिए । बुधबार रातभर जिल्ला विकास समितिमै धर्ना दिएर बस्ने सरोकार समितिका अध्यक्ष बुढाले बताए । तकसेरामा गाउँपालिकाको केन्द्र बन्ने सुनिश्चित नभएसम्म ताला नखोलिने र आन्दोलन पनि नरोकिने समितिले जनाएको छ ।   

 

जिल्ला बन्द   

चरणबद्ध आन्दोलन अन्तरगत तकसेरावासीले बुधबारदेखि अनिश्चितकालिन जिल्ला बन्द गराएका छन् । स्थानिय तह पुनर्संचनाको क्रममा प्रस्तावित पुथा–उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरामा हुनुपर्ने माग सहित तकसेरावासीले बुधबार बिहानैबाट जिल्ला बन्द गराएका हुन् । बन्दका कारण बुधबार बिहानै देखी जिल्लाभरको यातायात सेवा ठप्प छ भने सदरमुकाम मुसिकोट खलंगा बजार पनि खुलेको थिएन । यातायात बन्द आज दोस्रो दिनपनि जारी छ भने खलंगा बजार भने खुलेका छन् । यातायात सेवा ठप्प हुँदा जिल्ला बाहिर तथा जिल्लाकै विभिन्न ठाउँमा जाने यात्रुहरु मारमा परेका छन् ।

 

१ हजार बढी तकसेरावासी सदरमुकाममा 

गाउँपालिकाको केन्द्र माग गर्दै १ हजार बढी गाविसवासी सदरमुकाम पुगेको सरोकार समितिले दावी गरेको छ । समितिका अनुसार गाविसबाट १ घर, १ व्यक्तिका दरले गाविसवासी सदरमुकाम पुगेका हुन् । आन्दोलनमा महिला सहित जेष्ठ नागरिक समेत सहभागी छन् । स्थानिय तह पुनर्संचना प्राविधिक सहयोग समितिको कार्य सर्त तथा कार्यविधि परिमार्जन सहित ४ कार्तिक २०७३ मा उल्लेखित मापदण्ड अनुसार पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र भौतिक मापदण्ड तथा पूर्वाधार सम्पन्न ठाउँ तकसेरामा नतोकीएकामा आफ्नो गम्भिर आपत्ती रहेको सरोकार समितिले जनाएको छ ।