• अहिले तरंगमासाहित्य माला
  • केहि छिनमाथाहा खबर

ताजा अपडेट :

समाचार

डरलाग्दो रुपमा हुँदै छ मोटरसाईकल चोरी

image not found

सानीभेरी समाचार डेस्क ।

रुकुममा मोटरसाईकल चोर्न गिरोह नै सक्रिय रहेको पाईएको छ । दाङ, बाँके लगाएतका शहरी जिल्लाबाट मोटरसाईकल चोरेर जिल्लामा पु¥याएर विक्रि गर्ने कार्यमा गिरोह नै सक्रिय रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो एक महिनामा १० ओटा चोरीका मोटरसाईकल नियन्त्रणमा आएपछि यस्तो रहष्य खुलेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक अंगुर जिसीले जानकारी दिए । जिल्लामा नयाँ तथा आधुनिक मोटरसाईकल भित्रिने क्रम बढेपछि यसमा कडाइ गरिएको उनले बताए । यस कार्यमा संलग्न ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको उनको भनाई छ । ‘जिल्लामा निकै महँगा मोटरसाईकल भित्रिने क्रम बढेपछि सुराखी टोली खटाएर यसमा गहिरो अनुसन्धान थालिएको हो, डिएसपी जिसीले भने–त्यसपछि जिल्लाका प्रमुख व्यापारीक केन्द्रबाट चोरीका मोटरसाईकल नियन्त्रणमा आउने क्रम बढेको हो ।’  

 

एक महिनामा चोरीका १० मोटरसाईकल नियन्त्रणमा 

जिल्लामा एक महिनाको अवधिमा चोरीका १० ओटा मोटरसाईकल नियन्त्रणमा आएका छन् । जिल्ला सदरमुकाम मुसिकोट सहित रुकुमकोट, आठविसकोट, बाँफिकोट लगाएतका प्रमुख व्यापारिक केन्द्रबाट उक्त मोटरसाइकल नियन्त्रणमा आएको डिएसपी जिसीले बताए । जिल्लामा यति ठुलो परिमाणमा चोरीका मोटरसाइकल नियन्त्रणमा आएको यो पहिलो पटक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा चोरीका मोटरसाईकल नियन्त्रण सम्वन्धी विशेष अभियान थालिएपछि यति धेरै मोटरसाईकल नियन्त्रणमा आएको र अझै धेरै चोरीका मोटरसाईकल हुन सक्ने डिएसपी जिसीले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयले यस सम्वन्धी अभियानलाई कडाईका साथ संचालन गरिरहेको छ ।

 

४ जना पक्राउ

प्रहरीले यस कार्यमा संलग्न ४ जनालाई पनि पक्राउ गरेको छ । बाँफिकोट छिन्खेतका कुवेर ओली, झुला २ का रागेन्द्र शाही, मग्मा ३ का सोनु भनिने शरुण दमाई र स्यालापाखा छिङका शेरबहादुर बोहोरालाई पक्राउ गरिएको प्रहरी प्रमख जिसीले जनाए । उनिहरुलाई छुट्टा छुट्टै समयमा पक्राउ गरिएको हो । ४ जना मध्ये २ जनालाई सार्वजनिक मुद्दा चलाईएको छ भने दुइ जनालाई दाङ पठाईएको उनले बताए । कुनैपनि व्यक्तिले मोटरसाईकल हराएको उजुरी नदिएकाले कुवेर ओली र रागेन्द्र शाहीलाई सार्वजनिक मुद्दा चलाईएको हो भने शरुण दमाई र शेरवहादुर बोहोरा संलग्न घटनाको मोटरसाईकल धनीले दाङ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकाले उनिहरुलाई दाङ पठाईएको हो । दाङ पठाइएका मध्ये दमाई चोरीमा संलग्न हुन भने बोहोराले उक्त चोरीको मोटरसाईकल खरिद गरि चलाउँदै आएका थिए । चोरी भएका मोटरसाईकल धनीको पहिचान नहुँदा पक्राउ परेका सबैलाई चोरीको मुद्दा दर्ता गर्न नसकिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु पटक पटक यस कार्यमा संलग्न रहेको पाईएको पनि प्रहरीको भनाई छ । 

 

यसरी हुन्छन मोटरसाइकल चोरी

शहरी जिल्लाबाट मोटरसाईकल चोरी गर्ने र रुकुम जस्ता पहाडी जिल्लामा विक्रि गर्ने ठुलो सञ्जाल सक्रिय रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुसंग सोधपुछ गर्दा जिल्ला बाहिरको गिरोहले जिल्लामा चोरीका मोटरसाईकल पठाईदिने र उक्त मोटरसाईकललाई जिल्लाको गिरोहले विक्रि गर्ने गरहेको खुल्नमा आएको डिएसपी जिसीको भनाई छ । विभिन्न ठाउँ तथा घरमा रोखेका मोटरसाईकल चोरी गर्ने र आफुखुशी नम्बर प्लेट बनाउने र कतिले त नक्कली ब्लुबुक समेत बनाएको पाईएको छ । त्यसपछि उक्त मोटरसाईकल पहाडी जिल्लामा पठाईने गरेको खुलेको छ । जिल्लामा भने अहिले सम्म कुनैपनि मोटरसाईकल चोरी नभएको प्रहरीको भनाई छ ।   

  

लाखौंका मोटरसाईकल हजारमा बिक्रि 

त्यसरी जिल्लामा भित्रिएका लाखौंका मोटरसाइकल निकै कममा विक्रि गर्ने गरिएको छ । प्रहरीले नियन्त्रणमा लिएका अधिकांस मोटरसाईकल २५० सिसिका रहेका छन् । उक्त मोटरसाईकल पल्सर लगाएत विभिन्न कम्पनीका हुन् । कुनैपनि कम्पनीको २५० सिसिको मोटरसाईकलको मुल्य कम्तिमा पनि तीन लाख पर्ने भएपनि उक्त मोटरसाईकल जिल्लामा ६० हजारको हाराहारीमा बिक्रि हुने गरेको प्रहरी बताउँछ । कम मुल्यमा राम्रो मोटरसाईकल पाइने भएपछि जिल्लामा यस्ता मोटरसाईकल सजिलै बिक्रि हुने गरेको प्रहरीको भनाई छ ।

 

फोटोः जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएका चोरीका मोटरसाईकल ।