• अहिले तरंगमाअनुरोध संगीत
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

१४ वर्ष पछि रुकुमेलीले विद्युत सेवा पाए

image not found

सानीभेरी समाचार डेस्क

७ माघ २०७३

निर्माण कार्य शुरु भएको १४ वर्षपछि रुकुममा केन्द्रीय प्रशारण लाईनको विद्युत पुगेको छ । खलंगा वितरण केन्द्र रुकुमका प्रमुख दिवाकर प्याकुरेलले मुसीकोट सम्ममा शीतलपाटी–मुसीकोट केन्द्रीय प्रसारण लाइनको विद्युत सञ्चालनमा आएको बताउनुभयो । उर्जामन्त्री जनार्दन शर्माको पहलमा १४ वर्षदेखि अलपत्र रहेको शीतलपाटी–मुसीकोट केन्द्रीय प्रशारण लाईन विस्तारको कामले पुर्णता पाएको हो । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले कात्तिक दोस्रो साता नेपाल विद्युत प्राधिकरण खलंगा वितरण केन्द्रको उद्घाटन गर्दै ४ महिना भित्र रुकुम सदरमुकामलाई केन्द्रीय प्रशारण लाईनमा जोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 

सदरमुकाम खलंगा पुगेको विद्युत प्रशारणको हाल परिक्षण कार्य भैरहेको र केही दिनमै पुर्ण क्षमतामा विद्युत सेवा सुचारु गरिने खलंगा वितरण केन्द्रका प्रमुख दिवाकर पोखरेलले जानकारी दिनुभयो । ‘कुन समयमा कति क्षमतामा विद्युत माग हुन्छ त्यसको अनुगमन तथा परिक्षण भईरहेको छ’ खलंगा वितरण केन्द्र प्रमुख पोखरेलले भन्नुभयो– ‘३/४ दिन पछि क्षेत्रिय कार्यालय नेपालगञ्जको समन्वयमा नियमित रुपमा विद्युत आपुर्ती हुनेछ ।’ तत्कालका लागि केन्द्रिय प्रशारणको विद्युत सेवा सल्यान रुकुम सडकखण्ड आसपासका बजार केन्द्र र सदरमुकाम खलंगामा सञ्चालन गरिने भएको छ ।

हाल ११ केभि क्षमताको केन्द्रीय प्रशारण लाईनको क्षमता वृद्धिको काम पनि संगसंगै भैरहेको छ । सल्यानको शितलपाटीमा भईरहेको सवस्टेशन निर्माण कार्यको पुर्णता पछि रुकुम सदरमुकाम खलंगा सम्म ३३ केभि क्षमतामा विद्युत सेवा विस्तार हुनेछ । सवस्टेशनको निर्माण पश्चात यस क्षेत्रमा स्थानीय स्तरमा उत्पादित विद्युतलाई पनि केन्द्रीय प्रशारण लाईनमा जोड्ने योजना रहेको केन्द्र प्रमुख पोखरेलले वताउनुभयो । केन्द्रीय प्रशारण लाईनको विद्युत सेवा सुचारु भएसंगै रुकुमेली विच खुशीयाली समेत छाएको छ ।